site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगानीकर्ताको सम्पत्तिसँगै घट्यो सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर

काठमाडौं । पछिल्ला वर्षमा सेयर बजारमा मन्दी छाएसँगै सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकर पनि घटेको छ  । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकर ७१.३१ प्रतिशतले घटेको हो ।

आर्थिक वर्ष २०७९/८० मा दुई अर्ब ९७ करोड पाँच लाख ८९ हजार ३७ रुपैयाँ राज्यले लाभकरमार्फत पाएको थियो । जसमा अल्पकालीन सेयर कारोबारमार्फत एक अर्ब ६४ करोड सात लाख ११ हजार ३९९ रुपैयाँ प्राप्त भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, दीर्घकालीन सेयर कारोबार गर्ने लगानीकर्ताबाट भने एक अर्ब ३२ करोड ९८ लाख ७७ हजार ६३८ रुपैयाँ प्राप्त भएको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले जानकारी दिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने १० अर्ब ३५ करोड ३० लाख ५९ हजार ५१७ रुपैयाँ राज्यले सेयर बजारबाट पुँजीगत लाभकर प्राप्त गरेको थियो । जसमा सरकारले अल्पकालीन सेयर कारोबारबाट ६ अर्ब ४९ करोड ६५ लाख १८ हजार ७९८ रुपैयाँ आर्जन गरेको थियो भने दीर्घकालीन लगानीकर्ताबाट तीन अर्ब ८५ करोड ६५ लाख ४० हजार ७१९ रुपैयाँ प्राप्त गरेको छ ।

गत आर्थिक वर्षभरि नै बजारमा उतारचढाव देखिएकाले पनि पुँजीगत लाभकर कम उठेको आकलन गरिएको छ ।

सेयर बजारबाट प्राप्त हुने पुँजीगत लाभकर कम उठेसँगै लगानीकर्ताले पनि पुँजीबजारबाट कमाएनन् । पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा सरकारलाई आर्थिक वर्ष २०७७/७८ मा हालसम्मकै बढी पुँजीगत लाभकर प्राप्त भएको छ । सो वर्ष पुँजीगत लाभकरवापत १४ अर्ब १३ करोड ६१ लाख ५३ हजार ५३ लाख रुपैयाँ प्राप्त भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा ९८ करोड ५२ लाख ८६ हजार ५३४ रुपैयाँ पुँजीगत लाभकर प्राप्त भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ६१ करोड दुई लाख ७४ हजार ६१६ रुपैयाँ मात्र सेयर बजारबाट पुँजीगत लाभकर प्राप्त भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्