site stats
बाह्रखरी :: Baahrakhari
देश
भक्तपुरमा ठूलो मात्रामा नक्कली नोट बरामद
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट  र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगु बुढाथोकीगाउँबाट १५ लाख रुपैयाँको नेपाली नक्कली नोट बरामद गरेको हो ।

प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा नौजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोही क्रममा पक्राउ परेका मध्ये सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ घर भई चाँगुमा बस्दै आएका ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएको थियो । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एकथान, कम्प्युटर एकथान, मोबाइल १२ थान र चार स्कुटर समेत बरामद गरेको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भई काठमाडौंको मूलपानीमा बस्दै आएका २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी र सुनकोसी गाउँपालिका घर भई काठमाडौंको पेप्सीकोलामा बस्दै आएका २६ वर्षीय सुशील कार्कीलाई पक्राउ गरिएको छ ।

यसैगरी, नवलपरासीको सरावल गाउँपालिका–१ घर भई काठमाडौंमा बस्दै आएका पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका–२ घर भई काठमाडौंको सामाखुसीमा बस्दै आएका २७ वर्षीय सागर आचार्य, झापा घर भई समाखुसीमै बस्दै आएका २४ वर्षीय युवराज राई र अछाम घर भई काठमाडौंको मातातीर्थमा बस्दै आएका २३ वर्षीय अर्जुन बुढालाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बरामद गरिएका सबै सामग्री अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट लगिएको प्रहरी उपरीक्षक केसीले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्