site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
नेपालको आफ्नै डेबिट–क्रेडिट कार्ड ‘नेपाल पे’ ल्याइँदै
प्रतीकात्मक स्केच ।

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले नेपालको आफ्नै डेबिट–क्रेडिट कार्ड ‘नेपाल पे’ ल्याउने भएको छ । यसका लागि पूर्वाधारको काम अघि बढाइएको एनसीएचएलले जनाएको छ ।

पूर्वाधार तयार भएसँगै बैंक तथा वित्तीय संस्थाले नेपालकै घरेलु कार्ड ‘नेपाल पे’ जारी गर्न पाउनेछन् । एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधानले अहिले प्रणाली विकासको काम गरिरहेको बताए ।

हाल बैंकले एटीएम कार्डका रूपमा कुनै विदेशी नेटवर्क (भिसा वा मास्टर कार्ड)को कार्ड उपलब्ध गराउँदै आएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आजको दिनमा कुनै पनि बैंक तथा वित्तिय संस्थामा नयाँ खाता खोल्दा अन्तर्राष्ट्रि नेटवर्कको कुनै किसिमको कार्ड (जुन हामीले सामान्यतया एटीएम कार्ड भन्छौँ) ग्राहकलाई दिन्छ,” उनले भने, “कार्डमा आधारित पूर्वाधार विकास भइसकेपछि नेपाल पेको कार्ड पनि बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकहरूलाई दिन सक्नुहुन्छ ।”

एनसीएचएलले ‘नेसनल पेमेन्ट स्वीच’का माध्यमबाट देशभित्र हुने कारोबार प्रोसेस गर्ने, क्लियरिङ गर्ने र सेटलमेन्ट गर्ने काम गर्छ । नेसनल पेमेन्ट स्वीचअन्तर्गत ‘कार्डमा आधारित पूर्वाधार विकास गर्ने’ र ‘नन कार्ड (रिटेल) पेमेन्ट स्वीच’ रहेको उनले बताए ।

अहिले रिटेल पेमेन्ट स्वीच (आरपीएस)बाट नेपाल बैंकको क्यूआर, कनेक्ट आईपीएस, खल्ती, आईएमई पे, सबै मोबाइल बैंकिङबाट हुने फन्ड ट्रान्सफरजस्ता खाताबाट सोझै खातामा कारोबार गर्न सकिने इन्टरअपरेबिलिटी वा अन्तरसञ्चालनको सुविधा उपलब्ध गराइरहेको छ ।

अर्काे कार्डमा आधारित कारोबारका लागि पूर्वाधार विकास गर्ने योजना रहेको उनले बताए । कार्डबाट हुने ‘ट्रान्जेक्सन’लाई इन्टरअपरेबल बनाउन आवश्यक स्वीच वा पूर्वाधार तयार भइसकेपछि केही महिनामा नेपाल पे नामक कार्ड सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।

शुल्क घट्ने, डाटा नेपालमै रहने
नेपाल पे कार्ड प्रयोगमा ल्याइएपछि ग्राहकको डाटा नेपालमै रहने र विदेशीको प्रयोग गर्दा जसरी डलरमा भुक्तानी गर्नु नपर्ने हुँदा शुल्क कम लाग्ने उनको भनाइ छ ।

हाल जति पनि कार्डबाट कारोबार गरिन्छ, चाहे एटीएमबाट पैसा निकाल्दा होस् वा पस मेसिनबाट तिर्दा – त्यसको डाटा अन्तर्राष्ट्रिय (जसको कार्ड प्रयोग गरिन्छ) नेटवर्कमा पुग्ने गरेको उनले बताए । डोमेस्टिक कार्ड प्रयोग गरिँदा मुख्य रूपमा दुई फाइदा हुनेछ ।

“नेपालभित्र नेपालीलाई नै पैसा तिर्दा वा नेपालकै एटीएमबाट पैसा निकाल्दा केही रकम चार्ज पनि तिरिरहेका छौँ । डोमेस्टिक कार्ड आएपछि पहिलो त त्यो डाटा बाहिर जाँदैन, नेसनल पेमेन्ट स्वीचबाट नै सबै क्लियरिङ हुन्छ,” सीईओ प्रधानले भने, “दोस्रो, हामीले विदेशमा डलरमा तिर्नु नपर्ने हुँदा पैसा हरेक कारोबारमा लाग्ने शुल्क धेरै नै कम गर्न सक्छौँ ।”

बैंकहरूले अहिले भिसा, मास्टर कार्ड दिइरहेझैँ पूर्वाधार तयार भइसकेपछि नेपाल पे कार्ड दिनेछन् । एनसीएचएलले उक्त कार्डको पूर्वाधारको वनरसिप राख्ने, डाटा प्रोसेसिङ र सेटलमेन्टको काम गर्ने उनले बताए ।

एनसीएचएल १० प्रतिशत नेपाल राष्ट्र बैंक र बाँकी अरू बैंक तथा वित्तीय संस्थाको लगानी भएको पेमेन्ट सर्भिस अपरेटर हो । यसले भुक्तानीसम्बन्धी आवश्यक पूर्वाधार तयार पार्ने काम गर्छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ‘डोमेस्टिक कार्ड स्किम’ आएपछि मुलुकभित्रैको नेटवर्कबाट कार्ड उपलब्ध हुने बताए । कार्ड स्किम भनेको कारोबारका लागि डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्न सकिने गरी बनाइएको पेमेन्ट नेटवर्क हो ।

“जस्तो, भारतमा रुपे कार्ड, श्रीलंकामा लंका कार्ड छ, नेपालमा पनि नेपाल कार्ड वा त्यस्तै केही कार्ड आउला र त्यसबाट डोमस्टिक रूपमा बढी कारोबार हुनसक्छ भन्ने हाम्रो आकलन हो,” उनले भने ।

डोमेस्टिक कार्डले कम लागतमा सेवा दिन सक्नुपर्नेमा उनी जोड दिन्छन् । अरू देशमा पनि आन्तरिक कार्डले लगभग शून्य शुल्कमै सेवा दिइरहेको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्