site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परीक्षा अनुत्तीर्णलाई न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो : सचेतक बर्तौला
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले न्याय सेवा आयोगले लिएको परीक्षा अनुत्तीर्ण भएकाहरूलाई जिल्ला न्यायाधीश नियुक्त गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले परीक्षामा अनुत्तीर्ण भएको न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने भनि प्रश्न समेत गरे । न्यायाधीश नियुक्तिले न्यायालयप्रतिको मानिसको भरोसा र विश्वासमाथि कुठाराघात भएको बताए । न्यायाधीश नियुक्तिको यथार्थताको सम्बन्धमा न्याय परिषद् र न्याय सेवा आयोगले समिति समक्ष स्पष्ट पार्नुपर्ने माग गरे ।

उनले भने, "न्याय सेवा आयोगले परीक्षा लियो । परीक्षामा अनुत्तीर्ण भएका प्रतिस्पर्धीहरू कसरी न्यायाधीश नियुक्तिका लागि योग्य हुनुभयो ? न्यायाधीश नियुक्तिमा जब हामी संविधान कार्यान्वयन गर्न सक्दैनौँ भने माननीयज्यूहरू तपार्इंहरू के हेरेर बसिराख्नुभएको छ ? कानुनको व्याख्या गर्ने न्यायालयमा यसप्रकारको विषय गम्भीर, लाजमर्दो अवस्था निर्माण भयो । न्याय परिषद् र न्याय सेवा आयोगलाई तत्काल यो विषयमा भएको के हो ? यथार्थ के हो ? तत्काल बैठक डाकेर यो विषयमा स्पष्ट पार्नुपर्छ ।"

त्यस्तै, सचेतक बर्तौलाले नेपालगञ्जका चेतन मानन्धरलाई २०७२ असार २८ गते दिउँसै खुडा प्रहार गरी हत्या गरेर आजीवन कारावासको सजाय भोगिरहेको रिगल डन भनिने योगराज ढकाललाई सरकारले कैद मिनाहा गरेकोप्रति पनि आपत्ति जनाए ।

उनले सरकारको निर्णयलाई राष्ट्रपतिले लाल मोहर लगाएको भन्दै संविधान र कानुनले दिएको अधिकार गृहमन्त्रीले दुरुपयोग गरेको बताए । सरकारको यस कदमले व्यवस्था, संविधान र कानुनमाथि नै प्रश्न सिर्जना गरेको उनको भनाइ छ ।

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्