site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
यसरी बन्द हुन्छ टिकटक, दूरसञ्चार प्राधिकरणले बढायो प्रक्रिया

काठमाडौं । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट भर्खरै पत्र पाएको र प्रक्रिया अघि बढेको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“क्याबिनेटको निर्णयअनुसार प्रयोगमा रोक लगाउन भनेर सञ्चार मन्त्रालयबाट पत्र आएको छ,” बाह्रखरीसँग उनले भने, “हामीले इन्टरनेट सेवा प्रदायकलाई यसका लागि पत्राचार गरिरहेका छौं ।”

नेपालमा एप र वेबसाइट (वेब) गरी दुई माध्यमबाट टिकटक चल्ने गरेको छ । प्राधिकरणका अध्यक्ष खनालले यी दुवै माध्यम बन्द हुने बताए ।

“नेपालमा दुईवटा वेब भर्सन र एप भर्सन दुवैमा हामी रोक लगाउँछौँ । इन्टरनेट सेवा प्रदायक (आईएसपी) र टेलिकम अपरेटरहरुलाई यसमा पहुँच रोक्न लगाउँछौँ,” उनले भने । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गर्न लागेको र तत्कालैदेखि टिकटक बन्द हुने उनले बताए ।

सेवा प्रदायकहरुले वेबसाइट र एपमा पहुँच रोक गरेसँगै टिकटकको एप र वेब दुवै खुल्ने छैनन् । नेपालमा लाखौँको संख्यामा टिकटकका प्रयोगकर्ताहरु रहेका छन् । अमेरिका, क्यानडा, बेलायतलगायत देशमा सरकारी उपकरणहरुमा टिकटकको प्रयोग प्रतिबन्ध छ ।

भारतमा भने टिकटक पूर्णरुपमा प्रतिबन्धित छ । टिकटक बन्द गर्ने सरकारको निर्णयलाई लिएर सामाजिक सञ्जालमा धेरैले सहमति व्यक्त गरेका छन् भने आलोचना गर्ने पनि उत्तिकै रहेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्