site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्‍याउन आग्रह

काठमाडौं । सरकारले लागु गरेको सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्‍याउन  आग्रह गरिएको छ । 

सामाजिक सुरक्षा कोष र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच आज भएको औपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा विषयमा अन्तर्क्रिया कार्यक्रममा सरोकार भएका निकायका अधिकारीले सो आग्रह गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारीले नेपालको संविधानमा उल्लेखित सामाजिक सुरक्षासम्बन्धी हकलाई कार्यान्वयन हुनेगरी सरकारले अघि बढाएको यस कार्यक्रममा आबद्ध हुन सबैलाई आह्वान गरे । साथै उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन मन्त्रालयबाट आवश्यक समन्वय र सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको महत्वबारे प्रकाश पार्दै कोषमा आबद्ध हुने प्रक्रिया र अवस्थाका बारेमा जानकारी गराएका थिए । घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले कोषमा आबद्ध हुँदा देखिने चुनौती सामना गर्न आवश्यक सहयोगका लागि सरकारसँग आग्रह गरेका थिए । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)का पूर्वअध्यक्ष विनोद श्रेष्ठले कोषमा थप रोजगारदाता समेत समेट्नुपर्ने ध्यानाकर्षण गराए ।

सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई सोबमोजिम २०६७ साल चैत ७ गते भएको हो । कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकामा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ ।

सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरूको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक हकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित छन् । रासस

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्