site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालबाट ६ महिनामा ३७ देशका २५१ नागरिक निष्कासन, सबैभन्दा बढी चिनियाँ र अमेरिकी 

काठमाडौं । नेपालले पछिल्लो ६ महिनाको अवधिमा ३७ देशका २५१ विदेशी नागरिकलाई निष्कासन गरेको छ । 

अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिना (साउन–पुस)को अवधिमा उनीहरूलाई निष्कासन गरिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भिसा समयभन्दा बढी बस्ने (ओभर स्टे गर्ने), नक्कली राहदानी तथा भिसामा आउने, विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका लगायतको आरोपमा उनीहरूलाई नेपालबाट निष्कासन गरिएको हो । 

२०८० साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले निष्कासन गरेका विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँ र अमेरिकी छन् । 

अध्यागमन विभागले जारी गरेको पछिल्लो ६ महिनाको विवरणमा उक्त अवधिमा नेपालले १४४ चिनियाँ र २४ अमेरिकीलाई निष्कासन गरेको छ । निष्कासन गरेकामध्ये ५७.३७ प्रतिशत चिनियाँ रहेको विभागको तथ्यांकले देखाउँछ । 

पछिल्लो ६ महिनाको अवधिमा नेपालले बेलायतका १४, बंगलादेशका १०, क्यानडाका ६, उज्वेकिस्तानका ६, श्रीलंकाका चार, जर्मनीका तीन, फ्रान्सका तीन र इटालीका तीन नागरिकलाई विभिन्न आरोपमा निष्कासन गरेको छ । 

यस्तै, सोही अवधिमा दक्षिण कोरिया, रुस, भियतनाम, नेदरल्याड, जापान, युक्रेन र अष्ट्रेलियाका दुई/दुई नागरिकलाई निष्कासन गरिएको छ ।

विभागका अनुसार पाकिस्तान, क्यामरुन, सुडान, पोर्चुगल, भुटान, नाइजेरिया, इन्डोनेसिया, हङकङ, युगाण्डा, डेनमार्क, सिंगापुर, ताजकिस्तान, लेबनान, थाइल्याण्ड, नर्वे, स्पेन, स्वाजील्याण्ड, मङ्गोलिया र जोर्डनका एक/एक नागरिक पनि निष्कासन हुनेमा परेका छन् । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्