site stats
बाह्रखरी :: Baahrakhari
देश
सम्पदा चिनारी अब क्यूआर कोडमा : ११ भाषामा आवाजसहितको विवरण

काठमाडौ । काठमाडौंका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारीसम्बन्धी जानकारी दिने क्यूआर कोड राखिएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वका स्मारक घुम्न आउने आगन्तुकले सजिलै जानकारी पाउन सकून् भनेर वडाले प्रविधिको प्रयोग थालेको हो 

काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले भने, “अहिले घुम्न आउने जसले पनि स्मार्टफोन बोकेको हुन्छ, क्यूआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा, पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वडासदस्य रसला तण्डुकारका अनुसार, काठमाडौं–१ भित्र चार प्राचीन ढुंगेधारा छन् । यस्तै, नागपोखरी, हिटीपोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण (आधा विष्णु आधा शिव), साई केन्द्र, सोराहिटी (तीनधारा), जमल विहार, लालगणेशजस्ता प्राचीन सांस्कृतिक सम्पदा छन् । यी सम्पदाको प्रवर्धनका निम्ति क्यूआर कोडमार्फत काम थालिएको महानगरले जनाएको छ ।

वडासचिव सर्वज्ञराज पौडेलले भने, “ठमेल, दरबारमार्ग घुम्न आउने पर्यटकहरू वडा नम्बर–१ का विभिन्न मन्दिर, ढुगेधारा, महाविहारजस्ता सम्पदा क्षेत्रमा आउनुहुन्छ । उहाँहरूलाई स्मारकका बारेमा जान्न सजिलो होस् भनेर प्रयोगका रूपमा हामीले अहिले दुईवटा मन्दिर र एउटा महाविहारको चिनारी क्यूआर कोडमा राखेका हौँ । यसको पृष्ठपोषण हेरेर थप कामको योजना बनाउनेछौँ ।”

वडाले द सारंगको प्राविधिक सहयोगमा क्यूआर कोड राखेको हो । क्यूआर कोडमा नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चिनियाँ, कोरियन, स्पेनिस, जापानी, अरेबिक गरी ११ भाषामा अडियो सुन्न सकिने महानगरले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्