site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्ता गठबन्धन भत्काउने कांग्रेसको अनुचित प्रयास सफल हुँदैन : प्रदीप ज्ञवाली
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली कांग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गरेका छन् ।

उपमहासचिव ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने कांग्रेसको प्रयास उचित नभएको पनि जिकिर गरे । सरकारबाट हट्न नपाउँदै जोजो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रस्ताव गर्दै हिँड्ने काम कांग्रेसले गरिरहेको उल्लेख गर्दै त्यो सत्ताबाट अप्रत्याशित रूपमा हट्नुपर्दा छटपटाहट मात्रै भएको उनले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार अपराह्न पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले कांग्रेस जिम्मेवार पार्टीको रूपमा भन्दा पनि प्रतिशोधको भावनाबाट चल्न खोजेको आरोप समेत लगाए । कांग्रेसले समानान्तर गठबन्धनको प्रयास गरिरहेका बेला उपमहासचिव ज्ञवालीले कांग्रेसलाई प्रतिपक्षमा रहेर सरकारको गतिविधिलाई ‘पर्ख र हेर’को नीति लिन पनि सुझाव दिए । 

जनतामा छाएको निराशा र मुलुकको व्यवस्थामा आएको संकटलाई पार लगाउन पनि आफ्नो पार्टीले नयाँ गठबन्धनलाई पूरै कार्यकाल टिकाउन हरसम्भव प्रयास गर्ने पनि स्पष्ट पारे । अब यो विकल्प पनि कम भएको र प्रणाली समेत जोखिममा परेको कुरालाई ध्यानमा राखेर राजनीतिक दलहरूले पनि नयाँ सत्तारुढ गठबन्धनलाई टिकाउन काम गर्नेपर्ने उपमहासचिव ज्ञवालीको तर्क थियो ।

उनले भने, "हामी राजनीतिलाई सधैँभरी प्रयोगको एउटा मञ्च, देशलाई एउटा एक्सपेरिमेन्टको थलो बनाउन चाहँदैनौँ । मुलुकलाई चाहिएको स्थिरता हो । सरकारमा को रहन्छ, सरकारको नेतृत्वमा को रहन्छ, कुन पार्टीले कुन मन्त्रालय सम्हाल्छ ? साह्रै ठूलो कुरा होइन होला । यद्यपि नेतृत्वले कतातिर लैजाने भन्ने कुराले धेरै कुराहरू फरक पार्छ । तर, त्यो उद्देश्यसँग जोडिएन भने सरकारमा को छ, कसले नेतृत्व गरेको छ, कुन पोर्टपोलियो कसले सम्हालेको छ ? भन्ने कुराको खासै अर्थ हुँदो रहेनछ । अब नेपाली कांग्रेसमा एउटा छटपटी देखिन्छ । उहाँहरूमा एकखालको आवेग जस्तो कि सरकारबाट अप्रत्याशित रूपमा हट्नु परेपछि त्यो देखिन्छ ।"

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्