site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रिय खुला तेक्वान्दो वैशाख २ गते 

काठमाडौं । आउँदो वैशाख २ गते चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो हुने भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)को सहयोगमा गर्न लागिएको प्रतियोगितामा ६०० भन्दा बढी खेलाडीको सहभागिता रहने तेक्वान्दोका मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

क्योरोगी र पुम्सेमा गरी ४४ स्वर्णपदकका निम्ति प्रतिस्पर्धा हुनेछ । क्योरोगीको सिनियर पुरुष/महिलामा समान ६–६ गरी १२ स्पर्धामा खेल हुनेछ । क्योरोगीकै जुनियर पुरुष/महिलामा समान १०–१० गरी २० स्पर्धामा भिडन्त हुनेछ । पुम्सेको व्यक्तिगत, समूहगत र पेयरमा १२ स्पर्धामा खेलाडीले कौशल प्रदर्शन गर्नेछन् ।

यो प्रतियोगिता दक्षिण कोरियाको सिओलमा अगस्ट २३ र २४ मा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)का निम्ति खेलाडी छनोटको आधार समेत रहेको छ । समान तीन/तीन पुरुष/महिला गरी ६ खेलाडी दक्षिण कोरियामा हुने प्रतियोगिताका लागि छनोट हुनेछन् ।

व्यक्तिगत पुम्सेबाट समान एक पुरुष/महिला खेलाडी छानिनेछन् । सिनियरको स्पर्धाबाट समान दुई पुरुष/महिला गरी चार खेलाडीले दक्षिण कोरियाको टिकट पक्का गर्नेछन् ।

सिनियर तौल समूहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समूहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइनेछ । त्यो प्रतिस्पर्धामा समान दुई पुरुष/महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा सहभागिताको अवसर पाउनेछन् ।

छनोट हुने ६ खेलाडीले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक र निर्णायकलाई पनि जनही १० हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ ।

एकदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । ६ एरिना तयार गरी खेल खेलाइने मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी गराए । प्रतियोगिता सञ्चालन गर्न ५० निर्णायक परिचालन गरिने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्