site stats
बाह्रखरी :: Baahrakhari
देश
इथियोपियाबाट कोकिनको क्याप्सुल निलेर काठमाडौं आएकी थिइन् केभिना, नेपाल ट्रान्जिट मात्रै

काठमाडौं । प्रहरीले लागुऔषध कोकिनसहित पक्राउ गरेका तीन महिलालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा युगान्डाकी ४४ वर्षीया केभिना मुगला, ३० वर्षीया लिल्लिन सुसन र भारतीय नागरिक देवाजनी पाल छिन् ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंबाट आइतबार र मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका युगान्डाकी केभिनाको साथबाट प्रहरीले एक किलो २६० ग्राम कोकिन र लिल्लिन सुसनको साथबाट एक किलो ३९४ ग्राम कोकिन बरामद भएको ब्युरोको प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिए ।

भारतीय नागरिक भने भारतबाट कोकिन लिन नेपाल प्रवेश गरेको खुलेको हो । पक्राउ परेकामाथि ब्युरोको टोलीले थप अनुसन्धान जारी राखेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इथियोपियाबाट ल्याएका थिए कोकिन

ब्युरो प्रहरी टोलीको अनुसन्धानका क्रममा युगान्डाकी महिलाले कोकिन इथियोपियाबाट वैशाख २८ गतेबाट कतारको दोहा विमानस्थल हुँदै काठमाडौं पुर्‍याएको खुलेको हो । ब्युरोका एसएसपी थपलियाका अनुसार पक्राउ परेका दुवैजना भरिया हुन् । उनीहरूले कोकिन नेपाल पुर्‍याएबापत दुई हजार डलर पाउने आश्वासनमा आएको खुलेको छ । उनीहरू दुवैजना पहिलोपटक नेपाल आएको खुलेको छ ।

पक्राउ परेका केभिना मुगलाले भने एक किलो २६० ग्राम कोकिनको प्लास्टिकले र्‍यापिङ गरी पेटमा निलेर ल्याएका थिए । उनलाई शंकास्पद अवस्थामा सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणका लागि प्रहरी अस्पताल महाराजगञ्ज पुर्‍याएपछि कोकिन फेला परेको हो ।

kokin-1-1715856535.jpg
बरामद काेकिन

उनको साथबाट कोकिन फेला परेपछि प्रहरीले उनीसँगै नेपाल आएकी अर्की महिला लिल्लिन सुसनबारे समेत निगरानी गरेको थियो । उनी मंगलबार ठमेलको एक होटलबाट पक्राउ परेका हुन् । उनीसँगै भारतीय नागरिक देवाजनी पालसमेत पक्राउ गरिएको हो । उनी भारतबाट २० हजार भारु पाउने लोभमा परेर काठमाडौं आएको खुलेको छ ।

प्रहरीले लागुऔषधका रूपमा महंगो मानिने कोकिनको मुख्य बजार भारत नै रहेको दाबी गरेको छ । प्रहरीले बरामद गरेको कोकिनको मुल्य दुई करोडभन्दा बढी रहेको दाबी गरेको छ ।

चार वर्षमा ४० किलो बरामद

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकले नेपाल कोकिनको मुख्य ट्रान्जिट प्वाइन्ट नेपाल रहेको देखाएको छ । चालु आर्थिक वर्षमा मात्रै ब्युरोको टोलीले सात किलो कोकिन बरामद गरेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७९/२०८० मा ब्युरोको टोलीले १५ किलो बरामद गरेको थियो ।

त्यस्तै २०७८/२०७९ र त्यसअघिको वर्षमा तीन किलो तथा आर्थिक वर्ष २०७६/२०७७ मा १५ किलो कोकिन बरामद भएको तथ्यांक ब्युरोसँग छ ।

ब्युरोका एसएसपी थपलियाका अनुसार कोकिन पेरु, कोलम्बिया, ब्राजिल, बोलिभिया, इथियोपिया हुँदै नेपाल आउने र नेपाल हुँदै भारतदेखि अन्य युरोपियन देशमा समेत जाने गरेको छ । त्यसरी बरामद भएको कोकिन कारोबारमा अफ्रिकीमूलका महिला प्रयोग भएको पाइएको छ ।

के हो कोकिन ?

कोकिन एक प्रकारको कडा खालको लागुऔषध हो । कोका बिरुवाको पातलाई रासायनिक प्रशोधनबाट उत्पादन गरिने कोकिन मंहगो लागुऔषधका रूपमा प्रयोग गर्ने प्रयोगकर्ताहरूले सेवन गर्ने गर्छन् ।

kokin-1715856470.png
कोकिनको सेवनले मानिसमा अनावश्यक सक्रिय देखाउने र उत्तेजित गराउने काम गर्छ । कोकिन पेरु, कोलम्बिया, ब्राजिल, बोलिभिया, चिली र दक्षिण अमेरिकाको पहाडी र जंगल क्षेत्रमा अवैध रूपमा उत्पादन गरिन्छ ।

यसकाे मूल्य भारतीय बजारमा प्रतिग्राम तीन हजारदेखि पाँच हजार भारु पर्ने प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्