site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री लामिछानेविरुद्धको रिटलाई अग्राधिकार
रवि लामिछाने । फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटलाई अग्राधिकार प्रदान गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार उक्त रिटलाई अग्राधिकार प्रदान गरेको हो ।

उक्त रिटमाथि सुनुवाइ गर्न यही जेठ २८ गतेका निम्ति अर्को पेसी समेत तोकिएको छ । सहकारीको बचत अपचलनमा लामिछानेलाई ‘क्लिन चिट’ दिइएको महान्यायाधिवक्ता कार्यालयको पत्र असंवैधानिक र गैरकानुनी भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रिटमा उनले सहकारीको बचत अपचलनबारे अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव पर्ने भन्दै गृहमन्त्रीबाट लामिछानेलाई निलम्बन गर्न प्रधानमन्त्रीका नाममा अन्तरिम आदेश पनि माग गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालय र लामिछानेलाई विपक्षी बनाइएको रिट यही जेठ १६ र १७ गते लगातार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा पेसी चढेको थियो । न्यायाधीश पोखरेलले अधिवक्ता हुँदा लामिछानेविरुद्ध कायम नै नरहेको नागरिकता प्रयोग गरी सांसद बनेको भन्दै दायर रिटमा उनका तर्फबाट बहस गरेका थिए । लामिछानेले अमेरिकाको राहदानी साथमै राखेर नेपाली राहदानी समेत बनाएको रिटमा पनि पोखरेलले नै बहस गरेका थिए । त्यही कारण निवेदकले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए ।

सदन र सडकमा समेत सहकारीको बचत अपचलनमा लामिछाने संलग्न रहेको आरोप लाग्न थालेपछि उनले महान्यायाधिवक्ता कार्यालयसँग आफूमाथि कतै उजुरी वा अनुसन्धान छ ? भन्दै सूचना मागेका थिए । त्यही सूचना माग गरेका आधारमा महान्यायाधिवक्ता कार्यालयले ‘कतै पनि उजुरी र अभियोजन नरहेको’ भनेर उनलाई पत्र दिएको थियो ।

रिटमा उक्त पत्र रद्द गरी छानबिनको माग गरिएको छ । छानबिनमा शक्तिको दुरुपयोगबाट प्रभावित पार्न सक्ने हुँदा निलम्बनका निम्ति प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अन्तरिम आदेश पनि माग गरिएको छ ।

यसअघि, लामिछानेविरुद्ध अधिवक्ता भट्टराईले दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । दरपिठविरुद्धको निवेदनमा सुनुवाइ गर्दै जेठ १० गते न्यायाधीश टेकप्रसाद ढुंगानाका इजलासले दरपिठ आदेश खारेज गरेपछि १४ जेठमा रिट दर्ता गरिएको थियो ।

a1-1717327391.jpga2-1717332899.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्