site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विश्वभर विस्थापितको संख्या १२ करोड : संयुक्त राष्ट्रसंघ

जेनेभा । संयुक्त राष्ट्रसंघले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबरजस्ती विस्थापित भएर बाँचिरहेका जनाएकाे छ । संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबरजस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यानमारजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ ।

विश्वव्यापी रूपमा विस्थापित जनसंख्या अहिले जापानको कुल जनसंख्या बराबर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । द्वन्द्व र विस्थापितको भयावह स्थितिबारे संयुक्त राष्ट्रसंघका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले भने, “द्वन्द्व सामूहिक विस्थापनको एउटा ठूलो कारक बनेको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यूएनएचसीआरले गत वर्षको अन्त्यसम्ममा ११ करोड ७३ लाख मानिस विस्थापित भएको जनाएको छ । अप्रिलको अन्त्यसम्ममा विश्वभर अनुमानित १२ करोड व्यक्ति विस्थापनमा बाँचिरहेका थिए ।

यूएनएचसीआरका अनुसार यो संख्या लगातार १२ वर्षदेखि बढ्दै गएको छ र एक वर्ष पहिले ११ करोड रहेको र सन् २०१२ को तुलनामा लगभग तीन गुणा बढी हो ।

ग्रान्डीले एएफपीसँग कुरा गर्दै आठ वर्षअघि आफूले कार्यभार सम्हाल्दा विस्थापनको उच्च आकडा देखेर आफू स्तब्ध भएको तर त्यसयता यो ‘दोब्बरभन्दा बढी’ भएको बताउँदै उनले यसलाई ‘विश्वको अवस्थामाथिको भयानक समस्या’ भनेका छन् ।रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्