site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आईपीओ निष्कासन गर्दै श्री डिष्टिलरी, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । मदिरा उद्योग श्री डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । श्री डिष्टिलरीले नौ लाख ६० हजार कित्ता सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिएको हो ।

कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आईपीओका लागि छुट्टाएको छ । आईपीओ निष्कासनका लागि २०८१ जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरीका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हस्ताक्षरपछि डिष्टिलरीका सञ्चालक न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए । सम्झौतासँगै कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन पेस गर्ने जानकारी दिएको छ । प्रक्रिया पूरा गरी चाँडै नै कम्पनीले आईपीओ जारी गर्ने बताइएको छ ।

सन् १९८५ मा स्थापना भएको श्री डिष्टिलरी एक उच्च गुणस्तरको मादक पेयका लागि प्रख्यात रहेको छ । यस कम्पनीको सुरुआती मुख्य ब्रान्डहरूमा किंग्स प्राइड व्हिस्की, माउन्ट एभरेस्ट व्हिस्की, बन्ड ब्ल्याक लेबल, ओएसिस एक्स्ट्रा ड्राय, श्री स्पेशल नम्बर वान, दुधिया स्पेशल, बुलेट, श्री दुधिया, सगुनलगायत रहेका थिए ।

कम्पनीका हालका ब्रान्डहरूमा प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोश, स्पेशल नम्बर वान रहेका छन् । यस्तै, कम्पनीले चाँडै नै ओएसिस, अल्फा ब्लु र बोन्ड ब्ल्याक लेबल गरी तीन नयाँ ब्रान्डलाई बजारमा ल्याउने तयारी गरिरहेको छ । यस कम्पनीको स्प्रीट लाइसेन्स रहेको र आइपीओ निष्कासनपश्चात् कम्पनीले उच्च गुणस्तरको स्प्रीट उत्पादनमा पनि काम गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्