site stats
बाह्रखरी :: Baahrakhari
देश
विदेश पठाउने नाममा ठगी गर्ने ६ जना कन्सलटेन्सी सञ्चालक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै एक हजारभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, सोही ठेगाना भएका २४ वर्षीय प्रेमबहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका–९ का २६ वर्षीय राजेश साउद, अछाम रामारोशन गाउँपालिका–१ का २५ वर्षीय टंकराज खनाल रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी, काठमाडौं धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङ र काठमाडौं नरेफाँट बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ३५ वर्षीय सन्तवीर घिमिरेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अङ्गुर जीसीले जानकारी दिए ।

“पक्राउ परेकाले कम्तीमा पनि एक हजारभन्दा धेरै व्यक्तिहरूबाट दुई करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएकाले हामीले पक्राउ गरेका छौँ,” उनले भने ।

रेशम रावलले काठमाडौंको कोटेश्वर र तीनकुनेमा सञ्चालन गरेका युनिक, वर्ल्डवाइड तथा रियान्स कन्सलटेन्सी, ग्लोबल ह्युमन रिसोर्सेस म्यानेजमेन्ट कम्पनी र रावल ट्राभल एन्ड टुर्सबाट पोल्यान्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगायतका देशहरूमा वैदेशिक रोजगारी तथा भिजिट भिसामा पठाउने भन्दै गैरकानुनीरूपमा कागजात, रकम संकलन गरेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी जीसीले बताए ।

प्रहरीले उक्त कन्सलटेन्सीबाट २२० थान राहदानी बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूले विभिन्न सामाजिक सञ्जालमार्फत विभिन्न देशमा आकर्षक तलब भत्ता सेवा सुविधा पाइन्छ भनी झुटा विज्ञापन प्रचारप्रसार गर्ने गरेको, पीडितको सक्कल कागजपत्र लिएको र विदेश पठाउने काम नभएपछि उक्त कागजपत्र माग्न जाँदा पीडितलाई एक लाख ५० हजारदेखि दुई लाखसम्म रकम दिनुपर्ने नभए डकुमेन्ट फिर्ता नदिने भनी थर्काउने गरेको आरोप छ ।

विभिन्न होटल, कृषि फार्म, विद्यालय आदिको स्ट्याम्प प्याड प्रयोग गरी झुटा कागजात बनाइदिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको सूचना अधिकारी जीसीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्