site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री लामिछानेको निलम्बन माग गरिएको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निलम्बन माग गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको छ ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा यसअघि सहकारी ठगीमा कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउने आदेश भएको थियो ।

अघिल्लो पेसी गत बुधबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा परेको थियो । तर, पेसी चढिसकेपछि न्यायाधीश शर्माका पूर्व ल फर्म पार्टनर रमेश बडालले वकालतनामा चढाएपछि मुद्दा हेर्न नमिल्नेमा परेर रोकिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रिटमा सहकारी संस्थाको बचत अपचलनका आरोपित गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालययबाट ‘क्लिन चिट’ लिँदै अनुसन्धान प्रभावित बनाएको दाबी गरिएको छ । उनले लामिछानेको निलम्बनका निम्ति प्रधानमन्त्रीका नाममा आदेश माग गरेका छन् ।

संघीय संसद्‌मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनको माग गरेको थियो । त्यतिबेला उनले महान्यायाधिवक्ता कार्यालयबाट कतै पनि उजुरी र अभियोजन नभएको पत्र लिएका थिए ।

तर, लामिछानेविरुद्ध पोखराका सहारा सहकारीपीडितले उजुरी दर्ता गराएका छन् । त्यसलाई लामिछानेले पूरक उजुरीमा कुनै प्रमाण नभएको जवाफ दिएका छन् ।

उक्त पत्रलाई पनि अधिवक्ता भट्टराईले अवैध घोषित गरी बदर गरिदिन आदेश माग गरेका छन् । 

गत जेठ २८ गते सर्वोच्चले बुटवलस्थित सुप्रिम सहकारीका प्रतिवादीको सूची र लामिछानेलाई विपक्षी नबनाउनुको कारण माग गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद्‌बाटै लामिछाने निर्दोष रहेको बताएका छन् । त्यस्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न ठाउँमा पुगेर लामिछाने निर्दोष रहेको बताएका छन् ।

लामिछाने स्वयंले आफू कुनै पनि सहकारीको ऋणी, बचतकर्ता, सञ्चालक वा व्यवस्थापक नरहेको बताएका छन् । नेपाल प्रहरीका महानिरीक्षकले समेत लामिछानेविरुद्ध कुनै उजुरी नरहेको दाबी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बोलेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्