site stats
बाह्रखरी :: Baahrakhari
देश
सिमलताल दुर्घटना : घटनास्थलदेखि गण्डक व्यारेजसम्म ३०१ सशस्त्र प्रहरी परिचालन 

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालस्थितमा पहिरो गई त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि ३०१ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । मंगलबार सशस्त्र प्रहरीले घटनास्थलदेखि करिब १३२ किलोमिटर दुरी रहेको गण्डक व्यारेजसम्म परिचालन गरिएको जनाइएको छ । 

दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा ११ गोताखोरसहित ८६ जनाको सुरक्षा फौज खटिएका छन् । दुई वटा मोटरबोट र सात वटा र्‍याफ्टबोटसहित परिचालन भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा ११५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर खटिएका छन् । उनीहरू घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म परिचालन भएको छ । त्यसैगरी सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरूमा परिचालित भएकोे छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ६० जनाको सुरक्षा फौज गण्डक व्यारेज इलाकामा परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको सुरक्षा फौज गैडाकोट नगरपालिका–१० को  इलाकामा परिचालित भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा १० जनाको टोली गण्डक व्यारेज इलाकामा खटिएका छन् । सुरक्षा वेस चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा वेश प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा परिचालित छन् ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

खोजी तथा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट दुई वटा सोनार डिभाइस, दुई वटा मोटरबोट र ६ वटा र्‍याफ्ट बोट प्रयोग भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट एक सोनार डिभाइस, एक वटा मोटरबोट र पाँच वटा र्‍याफ्टसहित १४ वटा बोट प्रयोग गरिएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्