site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । आइतबार होटेल रोयल सिंगी काठमाडौंमा भएको सम्झौतामा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद ओझाले सम्भौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल लाइफले कम्पनीले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा ७३ करोड ७२ लाख ८९ हजार ६०० रुपैययाँ लगानी गर्ने सम्झौता भएको हो । योसँगै नेपाल लाइफको ३५.३२ प्रतिशत स्वामित्व रहने छ । त्यस्तै, युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड लगानी नेपाल लाइफको रहनेछ । यो स्कुलमा कम्पनीको ४७.६२ प्रतिशत स्वामित्व हुने बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणले जारी गरेको लगानीसम्बन्धी निर्देशिकाको अधीनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको बताए । सोही निर्देशिका अनुसार लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको उनले बताए ।

शिक्षा क्षेत्र राष्ट्रिय महत्त्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफल आउने बताए । साथै, राष्ट्रप्रति योगदान पुग्न जाने र यस कम्पनीप्रति पनि आमनागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको उनले बताए ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले जीवन बिमा बजारमा एक चौथाइभन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दु राखेको बताए । यसैको सुरुआत स्वरुप शिक्षा क्षेत्रको लिडरको रूपमा स्थापित संस्थामा लगानी गरिएको उनले बताए ।

उच्च प्रतिफल प्रदान गर्न लगानी विविधिकरणको कार्यको शुभारम्भ भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन कम्पनी अग्रसर रहेको कुरा पनि उनले बताए ।  

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्