site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक सहायता प्रतिबद्धता ३८.६ प्रतिशतले घट्यो, ११ महिनामा एक खर्ब ४ अर्ब प्राप्त

काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक सहायता प्रतिबद्धतामा ३८.६ प्रतिशतले गिरावट आएको छ । अर्थ मन्त्रालयले जारी गरेको नयाँ विवरणअनुसार गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा वैदेशिक सहायता प्रतिबद्धतामा गिरावट आएको हो । 

२०८० असार १ गतेदेखि २०८१ जेठ मसान्तसम्मको अवधिमा नेपालले एक खर्ब ४ अर्ब ७८ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनाको तुलनामा ३८.६ प्रतिशतले कम हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा नेपालले १ खर्ब ७० अर्ब ५१ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ को सोही अवधिमा नेपालले ६५ अर्ब ७३ करोड रुपैयाँ कम वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । 

नेपालले आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा प्राप्त गरेको वैदेशिक सहायता प्रतिबद्धतामा ४१.९ प्रतिशत हिस्सा अनुदान र ५८.१ प्रतिशत हिस्सा ऋण छ । 

अघिल्लो आर्थिक वर्षको जेठसम्मको वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको हिस्सा क्रमश: २३.९ प्रतिशत र ७६.१ प्रतिशत थियो ।

यस अवधिमा भएको वैदेशिक सहायता प्रतिबद्धतामध्ये एसियाली विकास बैंकबाट ४६.३ प्रतिशत, विश्व बैंक समूहबाट १५.६ प्रतिशत, बेलायत सरकारबाट ११.२ प्रतिशत, युरोपियन युनियनबाट १०.१ प्रतिशत र अनय विकास सहायता प्रदायकबाट १६.८ प्रतिशत छ । 

प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी सहरी विकास क्षेत्रमा २१ प्रतिशत रहेको छ । सबैभन्दा न्यून वातावरण क्षेत्रमा ०.२ प्रतिशत छ ।

प्राप्त वैदेशिक सहायत प्रतिबद्धतामध्ये २१ प्रतिशत सहरी विकास, १५.९ प्रतिशत स्वास्थ्य, १४.३ प्रतिशत सडक, १२.७ प्रतिशत बजेटरी सहायता, ११.२ प्रतिशत उद्योग तथा जलवायु, ७.७ प्रतिशत शिक्षा, ५.१ प्रतिशत ऊर्जा, ३.७ प्रतिशत सामाजिक, ३.१ प्रतिशत जलवायु परिवर्तन, २.५ प्रतिशत कृषि, १.३ प्रतिशत पर्यटन, १.२ प्रतिशत फोहोर व्यवस्थापन र ०.२ प्रतिशत वातावरण क्षेत्रमा छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्