site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

काठमाडौं । इजरायलले दुई हजार नेपाली श्रमिकलाई ‘केयरगिभर’का रूपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका निम्ति इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायल नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको हो ।

हाल छनोटका चरणमा रहेका ५०० मुख्य र ३०० वैकल्पिक उमेदवार गरी यसअघि कुल ८०० नेपाली श्रमिक इजरायल लैजाने भनिएको थियो । उक्त संख्या बढाएर एक हजार मुख्य र एक हजार वैकल्पिक उमेदवार गरी कुल दुई हजारसम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका साथै ‘जीटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रूपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत भेटमा छलफल गरिएको थियो ।

आउँदा दिनमा कृषिलगायत अरू क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिने बारेमा कुराकानी गरिएको प्रवक्ता रिजालले जानकारी दिए ।

त्यसक्रममा मन्त्री भण्डारीले नेपाल–इजरायलबीचको श्रम सम्बन्धका बारेमा सन्तोष व्यक्त गरेका थिए । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपीन जोशीको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल लिन उनले अनुरोध गरेका थिए । रासस

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्