site stats
बाह्रखरी :: Baahrakhari
देश
यान्त्रिक अवस्था ठिक नभएका गाडी चलाउने ४२ जनालाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा यान्त्रिक अवस्था ठिक नराखी गाडी चलाउने क्रम अझै रोकिएको छैन । प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरी यान्त्रिक अवस्था ठिक नभएका गाडी चलाउनेलाई कारबाही गर्दै आए पनि यो क्रम नरोकिएको पाइएको हो । आज मात्रै उपत्यकाको सातदोबाटोमा गरिएको सवारीसाधन विशेष जाँचका क्रममा अवस्था ठिक नभएका सवारीसाधन चलाउने ४२ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले ६८ वटा सवारीसाधन जाँच गर्दा हेण्डब्रेक नलाग्ने, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत यान्त्रिक अवस्था ठिक नभएका ४२ वटा सवारीसाधन फेला पारेकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका एक चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख १५५३ नम्बरका बस चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाब जाँच गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी चालकले नसालु पदार्थसेवन गरे÷नगरेको जाँच गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २२:१६
प्रतिक्रिया दिनुहोस्