site stats
बाह्रखरी :: Baahrakhari
देश
सिग्देल आजबाट कामु सेनापति, एक महिनापछि सम्हाल्नेछन् पूर्ण कार्यभार

काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल आज (शुक्रबार) बाट नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापति बनेका छन् ।  प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबारबाट बिदामा बसेपछि सिग्देलले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् । 

नेपाली सेनामा प्रधानसेनापति अवकास पाउनुभन्दा एक महिना अघिदेखि बिदामा बस्ने अभ्यास छ । यसैअनुसार प्रधानसेनापति शर्मा शुक्रबारबाट बिदामा बसेका हुन् ।
 
प्रधानसेनापति शर्माले भदौ २४ गते अवकास पाउने छन् । त्यसपछि नेपाली सेनाको प्रधानसेनापति सिग्देल हुनेछन् ।

यही साउन १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले रथी सिग्देललाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ बमोजिम साउन २५ गतेदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसपछि, राष्ट्रपति रामचन्द्र पौडेलले साउन १६ गते ज्येष्ठता क्रममा रहेका बलाधिकृत रथी सिग्देललाई साउन २५ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेका थिए ।

सिग्देलले नेपाल र विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट उनले ग्रयाजुएट गरेका छन् । 

उनले नेपालको आर्मी वार कलेजबाट ‘हायर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्स’ र भारतबाट ‘डिफेन्स म्यानेजमेन्ट कोर्स’ पूरा गरेका छन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यशाला र व्यावसायिक सेमिनारहरूमा पनि भाग लिएका छन् ।

सिग्देलले त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन् ।

नेपाली सेनामा ३७ वर्ष बिताइसकेका सिग्देलले विभिन्न पदमा रही स्वदेश तथा विदेशमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।  उनले काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कूलको कमाण्डेन्टको रूपमा काम गरेका छन् । 

उनीसँग सैन्य संचालन निर्देशनालयको निर्देशक, नीति र योजना विभागको महानिर्देशकको रूपमा काम गरेको अनुभव छ । उनले प्रधानसेनापतिको सैनिक सहायक भएर समेत काम गरेका थिए । 

सिग्देलले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ‘ल्याण्ड फोर्स टक’का लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको नेतृत्व गरेका गरेका थिए । कोभिड–१९ महामारीको समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा सेक्रेटरीको रुपमा उनले काम गरेका थिए ।

संयुक्त राष्ट्र शान्ति सेनाको रुपमा सिग्देलसँग पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता चुनौतीपूर्ण स्थानहरूमा काम गरेको अनुभव रहेको छ । नेपाली सेनाको उपरथी पदमा रहँदा सिग्देल २०८० मंसिरमा जन्ममितिका कारण विवादमा परेका थिए । 

जन्ममिति विवादकै कारण अर्का उपरथी ताराध्वज पाण्डेले राजीनामा गरेको केही दिनमै सिग्देललाई पनि जन्ममितिका कारण विवादमा तान्ने प्रयास गरिएको थियो । सिग्देलले जन्ममिति सच्याई वास्तविक सेवावधिभन्दा बढी समय काम गरेको आरोप लगाउँदै २०८० मंसिर ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । 

तर पछि नेपाली सेनाले उनको जन्ममितिमा कुनै कैफियत नदेखिएको बताएपछि विवाद अन्त्य भएको थियो । २०८० कात्तिक २३ गते प्रधानसेनापतिको रोलक्रममा रहेका उपरथी ताराध्वज पाण्डेले जन्ममिति विवादका कारण पदबाट राजीनामा दिएका थिए । 

उपरथीबाट रथीमा बढुवा हुने क्रममा जन्ममिति विवाद बढेपछि पाण्डेले सम्भावित छानबिन र कारबाहीबाट जोगिन पदबाट राजीनामा दिएका थिए । त्यसपछि सिग्देललाई रथीमा बढुवा गरिएको थियो । उनै सिग्देल आजबाट कायममुकायम प्रधानसेनापति बनेका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्