site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाली सेनालाई नयाँ हेलिकोप्टर खरिद गर्न अमेरिकाले सहयोग गर्ने

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई नयाँ हेलिकोप्टर खरिद गर्न सहयोग गर्ने सहमति जनाएको छ ।

एक दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार बिहान काठमाडौं आएका व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड बर्माले उक्त सहमति जनाएका हुन् ।

“यसै क्रममा उप–विदेशमन्त्री बर्माले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न थप नयाँ हेलिकोप्टर खरिदका लागि अमेरिका सहयोग गर्न सहमत भएको शुभ समाचार पनि सुनाउनु भयो,” काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुकमा पेजमा उल्लेख गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिकी दूतावासले उप–विदेशमन्त्री रिचार्ड बर्माको नेपाल भ्रमण सफल रहेको दाबी समेत गरेको छ ।

शुक्रबार बिहान काठमाडौं आइपुगेको अमेरिकी उप–विदेशमन्त्री बर्माले शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

भेटमा नेपालीहरूका लागि उज्ज्वल, दिगो र समावेशी भविष्य निर्माण गर्ने योजनाका लागि अमेरिकी सहयोग र अमेरिका–नेपाल साझेदारीबारे कुराकानी भएको दूतावासले जनाएको छ ।

भेटमा अमेरिकी उप–विदेशमन्त्री बर्माले प्रतिनिधिसभाबाट संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक पास गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिएका थिए ।

यसैगरी अमेरिकी उप–विदेशमन्त्री बर्माले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिको बारेमा कुरा गर्न मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालका पदाधिकारीहरूसँग पनि भेट गरेका थिए ।

उनले यूएसएआईडी नेपालको साझेदार नेपाल टी कलेक्टिभ टोलीसँग ठमेलमा चिया पिउनुका साथै महिला उद्यमीहरूसँग पनि कुराकानी गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्