site stats
बाह्रखरी :: Baahrakhari
देश
‘तडकभडक र खर्चिलो तिज कार्यक्रम गरे कारबाही’

काठमाडौं । अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिज पर्वका कार्यक्रम आयोजना गरे कारबाही गर्ने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गरी तिज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको जनाएको छ ।

“कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरूको आयोजना गरे/गराएमा त्यस्ता गतिविधिहरूको निगरानी गरी कानुनबमोजिम कारबाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइएको छ,” काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जारी गरेको सूचनामा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र सम्वर्द्धन गर्नेबाहेक तिजसँग सम्बन्धित अरू खर्चिला एवम् भड्किलो कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेको छ ।

“पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु हामी सबैको कर्तव्य भएकोले यस कार्यमा जिल्लास्थित सबै राजनीतिक दल, नागरिक समाज, पेसागत संघसंस्थाहरू, सञ्चारकर्मीहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट सहयोगको अपेक्षा गरिएको छ,” सूचनामा उल्लेख छ ।

adfmg-1724990329.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्