site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुदूरपश्चिम सरकारको बजेट सोमबार
कमलबहादुर शाह । फाइल तस्बिर ।

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ ।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गएको असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गरेर ल्याइने जानकारी दिए । उनले भने, “जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी बजेट निर्माणको तयारी पूरा भइसकेको छ । यही भदौ ३१ गते सार्वजनिक गर्नेछौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुख्यमन्त्रीले नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले त्यसलाई आधार मानेर परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारे । 

सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नभई अलपत्र परेको थियो । त्यसलाई परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याउन लागेको मुख्यमन्त्री शाहले जानकारी दिए ।

बजेट पारित नहुँदा साउन १ गतेदेखि सरकारको राजस्व संकलन, खर्चलगायत अत्यावश्यक काम रोकिएका छन् । शाह नेतृत्वको नयाँ सरकारले अध्यादेशमार्फत राजस्व संकलन कार्य सञ्चालन गरिसके पनि बजेट शून्यताको अवस्था अझै हटेको छैन ।

प्रदेश सरकार बजेटविहीन हुँदा कर्मचारीको तलब, भत्ता, सञ्चालन खर्चलगायत शीर्षकमा दुई महिनादेखि भुक्तानीको समस्या छ । केन्द्रमा बनेको समीकरणानुसार नेपाली कांग्रेसका नेता शाहको नेतृत्वमा साउन २२ गते नयाँ सरकार गठन भएको थियो ।

सोडारी नेतृत्वको तत्कालीन सरकारले चालु आवका निम्ति ३१ अर्ब ३२ करोड ९८ लाख रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेको थियो । योमध्ये चालुतर्फ ११ अर्ब सात करोड १९ लाख र पुँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख रुपैयाँ छुट्ट्याइएको थियो । वर्तमान सरकारले ३० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । रासस

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्