site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई महिनाको सरकारी बजेट खर्च सात प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कुल विनियोजनको ७.३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख बराबर बजेट खर्च भएको हो । 

चालु आवका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो । यो अवधिमा चालुतर्फ ७.२८ प्रतिशत अर्थात् ८२ अर्ब ९८ करोड ६५ लाख बराबर खर्च भएको छ । चालु आवका लागि सरकारले चालु शीर्षकमा ११ अर्ब ४० करोड ६६ लाख ४५ हजार बराबर विनियोजन गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर बजेट विनियोजन भएकोमा ४.२३ प्रतिशत अर्थात् १४ अर्ब ८९ करोड ४० लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा १०.८ प्रतिशत अर्थात् ३९ अर्ब ६७ करोड २२ लाख बराबर खर्च भएको छ ।

यही अवधिमा सरकारले वार्षिक लक्ष्यको ११.५२ प्रतिशत राजस्व असुली गरेको छ । चालु आवका लागि कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा एक खर्ब ६९ अर्ब ५१ करोड ७९ लाख बराबर संकलन भएको छ ।

यो अवधिमा संकलित राजश्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ११.३१ प्रतिशत अर्थात् एक खर्ब ४५ अर्ब १९ लाख ३३ हजार असुली भएको छ । कर राजस्वतर्फ सरकारले कुल १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख बराबर उठाउने वार्षिक लक्ष्य राखेको छ ।

गैरकर राजस्वतर्फ एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख बराबर वार्षिक लक्ष्य राखिएकोमा १५.६९ प्रतिशत अर्थात् २१ अर्ब १९ करोड ४३ लाख बराबर संकलन भएको छ । चालु आवका लागि सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा हालसम्म वैदेशिक अनुदान उठाउन सकेको छैन । रासस

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्