site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगानीकर्ता र ब्रोकरको जुहारी हेर्दै नियामक

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल र सिप्ला सेक्युरिटिज (ब्रोकर नं. २०) बीच उजुरी हालाहालको अवस्था छ । उनीहरूबीच विज्ञप्ति निकालेर सामाजिक सञ्जालमा हाल्ने प्रतिस्पर्धा पनि चलेको छ । ब्रोकर नं. २० ले अग्रवाललाई चेक चोरेको आरोप लगाएको छ भने ब्रोकरले वर्षौदेखिको सेयर कारोबारको हिसाब मिलान नगरेको अग्रवालकाे आरोप छ ।

यतिमात्र हैन ब्रोकर नं. नै खारेज गर्न भन्दै अग्रवालले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र अर्थ मन्त्रालयलाई बोधार्थसहितको निवेदन दिएका छन् । अग्रवालका अनुसार सिप्ला सेक्युरिटिजले उनलाई ४८ करोड ३३ लाख ९८ हजार रुपैयाँ दिन बाँकी छ ।

तर, सिप्ला सेक्युरिटिजले भने हिसाब मिलान गर्न टोखास्थित ग्लोबल आइएमई बैंकको शाखामा जाँदा १६ करोड रुपैयाँ बराबरका चेक लिएर अग्रवाल फरार भएको आरोप लगाएको छ । उनले हिसाब मिलान गर्ने भन्दै एक करोड दरका १६ वटा चेक लिएर फरार भएको सिप्ला सेक्युरिटिजको आरोप छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“दीपेन्द्र अग्रवालसँग यस प्रा.लि.ले खाताहरू मिलान गरेर हिसाब फरफारक गर्न प्रा.लि.का प्रतिनिधिहरूले सोही बैंकको खाता नं. ०७५०१०१००००७३२ का एक करोडका जम्मा १६ वटा चेक गरी १६ करोडका चेकहरू लिई गएका थिए,” सिप्ला सेक्युरिटिजबाट जारी विज्ञप्तिमा उल्लेख छ, “निज दीपेन्द्र अग्रवालले पनि सोही अनुरूप हिसाब मिलान गर्ने भनेर आफ्नो तर्फबाट पनि यस प्रा.लि.लाई तिर्नुपर्ने रकमका चेकहरू लिएर आए त्यस उपरान्त यस प्रा.लि.का प्रतिनिधिहरूलाई झुक्याएर उहाँ आफैँ बैंकका शाखा प्रबन्धकसमक्ष गएर हिसाब मिलान गर्न लगाउँछु भन्दै चेक लिएर फरार भएको जानकरी गराउँदछौँ ।” यस विषयमा प्रहरीमा रिपोर्ट समेत गरिएको सिप्लाले जानकारी दिएको छ ।

यसअघि पनि विवाद निस्किएको थियो । त्यतिबेला नेप्से र धितोपत्र बोर्ड हुँदै अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाइएको थियो । तर, ब्युरोले दुवै पक्षलाई हिसाब मिलान गर्न पहल गरिदिएको थियो ।

अहिले आएर पुनः दीपेन्द्र र २० नम्बर ब्रोकरको विवाद छरपष्ट छ । दीपेन्द्रको यो ब्रोकरसँग मात्र हैन यसअघि कारोबार गरेका श्रीकृष्ण सेक्युरिटिज र साउथ एसियन बुल्समा पनि यस्तो विवाद भएको थियो ।

हिसाब मिलानको मामिलामा अग्रवाल पहिलेदेखि नै आक्रोशित हुने गरेका छन् । यी दुई ब्रोकरका अधिकारीहरूका अनुसार पहिले पनि अग्रवालले हिसाब मिलानमा गञ्जागोल गर्ने र ब्रोकरका सञ्चालकको चरित्र हत्या गर्दै आएका छन् ।

अग्रवाल र ब्रेकरले यसरी सामाजिक सञ्जालमा गरेको जुहारी नेप्से र धितोपत्र बोर्डले हेरेर बसेका छन् । नेप्सेका कर्मचारी र नेप्सेलाई गाली गर्दै अग्रवालले निवेदन दिएका छन् । उनी यो समेत गरेर तीनपटक नेप्सेमा निवेदन दिएको बताउँछन् । तर, नेप्सेले भने आफ्नो पक्षबाट प्रारम्भिक अनुसन्धान गरेर बोर्डलाई बुझाएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् ।

उनका अनुसार जति पटक निवेदन दिए पनि नेप्सेले गर्नुपर्ने काम गरिरहेको छ । तर, नेप्सेमा निवेदन दिएर अग्रवालले आफू चोखो हुन, सामाजिक सञ्जालको ध्यान तान्न यो सबै गरेको हुन सक्ने ब्रोकरहरूको बुझाइ छ ।

त्यस्तै, धितोपत्र बोर्डले सामाजिक सञ्जालमा भएका गतिविधिलाई भन्दा परेका उजुरीमा अनुसन्धान गर्ने गरेको बोर्डका प्रवक्ता डा. नवराज अधिकारी बताउँछन् । उनका अनुसार ब्रोकर र लगानीकर्ताका केही उजुरी भए त्यसलाई अनुसन्धान गरेर कारबाही गर्न वा थप अनुसन्धान गर्न सम्बन्धित निकायमा बुझाइने गरिन्छ । 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्