site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक महिनाभित्र २७० मेगावाट राष्ट्रिय प्रणालीमा जोडिने

काठमाडौं । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवाका विभिन्न जलविद्युत् आयोजनाबाट निर्माण भएको २७०.३ मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जोडिने भएको छ ।

लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको १०२ मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन जलविद्युत् आयोजनाको ४२.५ मेगावाट गरी २७०.३ मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण ग्रीडमा जोडिनेछ ।

सन् २०१७ को डिसेम्बरमा चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन निर्माणको प्रभावकारी सम्झौता भए पनि विभिन्न कारणले समयमै प्रसारण लाइन र सवस्टेशन बन्न नसक्दा निर्माण कार्य सम्पन्न उत्पादनमा जान सकेको थिएन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रसारण लाइन निर्माणको काम ढिला हुँदा राज्यलाई दैनिक करोडौँ नोक्सानी भएकाले अब ढिलासुस्ती गर्ने कुनै छुट नरहेको बताए ।

“गरिब तथा विपन्न जनताको लगानी रहेको यस्ता आयोजनाको काम ढिलाई हुँदा जनता प्रत्यक्ष मारमा परेका छन्, अब हेलचक्याईं गर्ने ठाउँ छैन,” ऊर्जामन्त्री खड्काले भने ।

नुवाकोटको पैरेबेसीमा निर्माण भएको त्रिशुली थ्री बी हव २२०/१३२/३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशन र रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०/१३२/३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत् खेर गइरहेको थियो ।

रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली थ्री बी हव २२०/१३२/३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशनबाट उक्त जलविद्युत् काठमाडौंको मातातीर्थ सवस्टेशनमा पुर्याइनेछ ।     

चिलिमे हवदेखि त्रिशूली हवसम्मको २८ किलोमिटर लम्बाई भएको प्रसारण लाइनमध्ये २० किलोमिटर लम्बाईको डबल सर्किट लाइन (५१ वटा टावर) र ८ किलोमिटर लम्बाईको चार सर्किटलाइन (२४ वटा टावर) रहेका छन् । चार सर्किटलाइन रहको आठ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशूली एक (२१६ मेगावाट)बाट उत्पादन हुने विद्युत्लाई त्रिशूली थ्रि वी हवसम्म जोडी राष्ट्रिय प्रसारण ग्रीडमा विद्युत् प्रवाह गरिनेछ ।

प्रसारण लाइनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेशन निर्माण भए पनि हाल त्रिशूली थ्री बी हवको छेउमा (६०० मीटर लम्बाइ),  मैलुङ बेसी (१२३५ मिटर लम्बाई) र हाकु (१४०० मिटर लम्बाई)मा तार तान्ने काम भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्