site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्र बैंकले ‘उपभोक्ता मूल्य सूचकांक’ आधार वर्ष परिवर्तन गर्ने, अब प्रदेशस्तरीय पनि आउने  

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकले नयाँ आधार वर्ष २०८०/०८१ लाई बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको हो ।

राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकका लागि यसअघि २०७१/०७२ लाई आधार वर्ष मानेर गणना गर्दै आएको थियो । अब परिवर्तन गरी यो वर्षबाट २०८०/०८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको छ ।

नयाँ आधार वर्षसँगै अब प्रदेशस्तरीय मूल्य सूचकांक पनि सार्वजनिक हुने भएको छ । यसअघि राष्ट्र बैंकले प्रदेशस्तरीय सूचकांक सार्वजनिक गर्ने गरेको थिएन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्यभार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको बताएको छ । 

विगतमा प्रयोग नहुने वस्तु अहिले प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले नहुँदा हटाउनु परेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । उनले परिवर्तन गर्न खाजेका कुराहरू अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तर चल्ने प्रक्रिया भएको बताए । उपभोक्ता मूल्य सूचकांकमा केही तलमाथि भए आगामी दिनमा सुधार गर्दै लैजाने पनि गभर्नर अधिकारीले बताए ।

गभर्नर अधिकारीले उपभोक्ता मूल्य सूचकांक मार्केट सेन्टरहरू बढेर गएका, ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको बताए । उनले ४९६ वस्तुको मूल्य संकलन गरिने भए पनि अहिले ५२५ पुर्‍याइएको बताए ।

अधिकारीले ‘उपभोक्ता मूल्य सूचकांक’ उपभोगको प्रवृत्ति भएको परिवर्तन र समयानुकूलका मूल्यहरूलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको बताए । बजार मूल्यसँग राष्ट्र बैंकले प्रकाशित गर्ने मूल्य मिल्दोजुल्दो नभएको भन्ने सन्र्दभमा समग्र वस्तुको मूल्यको आधारमा मूल्य सूचकांक निकालिने हुँदा त्यस्तो देखिन जाने अधिकारीको भनाइ छ ।

“परिवर्तन गर्न खाजेका कुराहरू अहिल्यै पनि पूर्ण हुँदैन । हामीले यो परिपूर्ण भन्ने खोज्यौँ भने हामी सही हुँदैनौँ । परिवर्तन भन्ने कुरा निरन्तरको प्रक्रिया हो,” उनले भने, “हामी त्यही डाइरेक्सनमा जाँदै छौँ । केही तलमाथि छन् भने भोलिको दिनमा सच्याउने छौँ । ‘उपभोक्ता मूल्य सूचकांक’को सन्दर्भमा मार्केट सेन्टरहरू बढेर गएका छन् ।”

त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रीय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो । राष्ट्र बैंकका अनुसार एक लाख दुई हजारभन्दा बढी मूल्यका भार अंकसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ । ५२५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिने गरेको जानकारी दिइएको छ । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्