site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सीमान्तकृत मेचे समुदायको संस्कृतिमा आधारित माखाल उपन्यासको लोकार्पण

काठमाडौं । सीमान्तकृत मेचे समुदायको संस्कृति र राजनीतिक जागरणलाई विषयवस्तु बनाइएको उपन्यास माखाल आज काठमाडौंमा लोकार्पण गरिएको छ ।

तेजप्रकाश श्रेष्ठद्वारा लिखित र परिचय पब्लिकेसनद्वारा प्रकाशित उपन्यासमा मेचे समुदायले स्वनियमका लागि कायम राखेको माखाल अर्थात आफ्नो समुदायको मुखिया छान्ने व्यवस्था र मेचे समुदायमा ४० को दशकको सुरुमा आएको राजनीतिक जागरणलाई समेटिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पुस्तक लोकार्पण समारोहमा मेचे समुदायको तर्फबाट बोल्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयकी सहसचिव रोशनी मेचेले आफ्नो समुदायका सांस्कृतिक पाटोको अनुसन्धान गरी तयार पारिएको उपन्यास आफैँमा अनुसन्धानात्मक कृति समेत हुनपुगेको टिप्पणी गरिन् । मेचे समुदायमा माखाल प्रणालीले कसरी काम गर्थ्यो भनी बुझ्न चाहनेहरूका लागि उपन्यास एउटा रोचक पुस्तक बनेको उनले बताइन् । 

त्यसैगरी समीक्षक ठाकुर शर्मा मेचे जातिको सांस्कृतिक पाटोलाई उक्त समुदायकै भाषाका शब्दहरू समेत राखेर तर सरल र सहज तिरकाबाट तयार पारिएको उपन्यास नवीनतम् सांस्कृतिक उपन्यास बन्न सफल भएको दावी गरे ।

पुस्तकका लेखक तेजप्रकाश श्रेष्ठले २०६४ सालमा मेचे समुदायसँग तीन महिनाभन्दा बढी समय बिताएर त्यस समुदायका अगुवाहरूसँग कुराकानी गरेका आधारमा सृजनात्मक लेखन गरी माखाल उपन्यास तयार गरेकाे बताए ।

प्रकाशक परिचय पब्लिकेसनका प्रमुख कार्यकारी भाष्कर ज्ञवालीले सीमान्तकृत मेचे समुदायको संस्कृतिलाई नेपाली साहित्यको मूलधारमा स्थापित गर्न यो उपन्यास प्रकाशित गरेको बताए । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्