site stats
बाह्रखरी :: Baahrakhari
देश
नौबिसे–नागढुंगा हुँदै १७ सय सवारीसाधन काठमाडौं भित्रिए
गत शुक्रबारदेखिको अविरल वर्षाका कारण झरेको पहिरो पन्छाएपछि गन्तव्यतर्फ जाँदै गरेका सवारीसाधन । तस्बिर : शंकर श्रेष्ठ/रासस

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत धादिङको झ्याप्लेखोलामा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साझँदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुसहित लिएर सवारीसाधन काठमाडौं भित्रिएको बताए । राजमार्गमा अलपत्र एक हजार ७०७ सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका हुन् ।

त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौंबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता तिवारीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आजबाट उपत्यकाबाट पनि नागढुंगा–नौबिसे हुँदै सवारीसाधन बाहिरिने छन्” उनले भने, “मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।”

सोमबार दिउँसो गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत गृहमन्त्री रमेश लेखकले डाकेका थिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढी, पहिरो, डुबान तथा विपद्मा भइरहेको उद्धार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा छलफल भएको जानकारी गराएका छन् ।

“आज साझँसम्म बीपी राजमार्गअन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्धार भइसक्छ ।” प्रवक्ता तिवारीले भने, “त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्धारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरूको उद्धार निरन्तर गरिरहेको छ ।”

प्रवक्ता तिवारीले मौसम पूर्ण रूपमा सामान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिए । “विस्तारै सडक खुल्ने र खुलाउनेक्रममा छ ।” उनले भने, “अझै पहिरोलगायत जोखिम टरिसकेको छैन् ।”

अवरुद्ध सडक सुचारु गर्न सरोकारवाला निकायका साथै देशका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको छ ।

“रोशी लगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण पनि हुँदैछ,” प्रवक्ता तिवारीले भने, “घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा निःशुल्क उपचार भइरहेको छ ।”

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्