site stats
बाह्रखरी :: Baahrakhari
खेल
कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल नियुक्त 

काठमाडौं । कर्णाली याक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । 

सोमबार क्लबको स्वामित्व लिएको हिमालयन बिल्डर्सले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय क्रिकेट ‘ए’ टोली का प्रशिक्षकसमेत रहेका मल्ललाई टिममा भित्र्याएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि नै हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मार्की खेलाडीमा सोमपाल कामी पाएको छ । यसअघि हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सले १ करोड ११ लाखमा कर्णालीयाक्सको खरिद गरिसकेको छ । 

डेढ दशक नेपाली क्रिकेट टिमको प्रतिनिधित्व गरेको ज्ञानेन्द्र मल्लले सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपालबाट ट्वान्टी २० अन्तर्राट्रियमा ४५ खेल खेल्दै ८८३ रन बनाएका थिए । उनले सन् २०१९ मा भुटानविरुद्ध शतक बनाएका थिए । 

कर्णालीका मालिक जनक दत्त खनालले पूर्वकप्तान मल्ललाई अनुबन्ध गरेसँगै टिममा नयाँ अध्याय सुरु भएको बताए । “नेपाली टिमको पूर्वकप्तानलाई टिममा भित्र्याउन पाउँदा सिंगो कर्णाली टिम खुसी छ,” उनले भने, “मल्लको आगमनसँगै टिम नयाँ उचाइमा पुग्ने विश्वास लिएका छौँ ।” 

प्रशिक्षक मल्लले कर्णाली टिमसँग आवद्ध हुँन पाउँदा उत्साहित भएको र आफ्नो अनुभव टिमसँग साट्न पाउनुलाई अवसरको रुपमा लिएको बताए । “एनपीएलमा कर्णाली याक्सबाट आफ्नो सहभागिता जनाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । कर्णाली याक्सको योजनाले मलाई प्रभावित पार्यो,” उनले भने, “कर्णाली याक्सले मलाई टिम दिएर जुन विश्वास गरेको छ । आफ्नो अनुभव टिममा प्रयोग गर्नेछु ।” 

कार्यक्रममा क्लबको निर्देशकमा गृहेन्द्र घिमिरेलाई नियुक्त गरिएको छ । उनले नेपाली क्रिकेट र कर्णाली याक्सलाई नयाँ उचाइमा पुर्याउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने बताए ।
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्