site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माथिल्लो तामाकोसी क्षतिले हिउँदमा लोडसेडिङको चिन्ता 

काठमाडौं । देशकै ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना शुक्रबार (असोज ११) बाट बन्द छ । निरन्तर वर्षा भएपछि शुक्रबार आयोजना बन्द गरिएको थियो ।  शनिबारको बाढीले बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पु¥याएपछि फेरि ‘लोडसेडिङ’ खेप्नु स्थिति पैदा भएको छ ।

माथिल्लो तामाकोसी आयोजनामा क्षति पुगेसँगै यस वर्षको हिउँदयाम लोडसेडिङ हुने त होइन भन्ने चिन्ता थपिएको छ । सुख्खायामका लागि नेपाल विद्युत् प्राधिकरणका निम्ति ‘व्याकअप’ मानिएको आयोजनामै क्षति पुगेसँगै हिउँदमा कसरी प्रणाली सन्तुलनमा ल्याउने भन्ने चिन्तामा प्राधिकरण नेतृत्व छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्, “जलविद्युत् आयोजनामध्ये सबैभन्दा धेरै क्षति माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा भयो, हेडवक्र्सको कन्ट्रोल बिल्डिङ पूर्ण रुपमा ध्वस्तै भएको छ । बाँधस्थलसम्म पुग्न बाटो समेत नहुँदा पूर्ण क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।’’ 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तामोकोसी चाँडो नबनेको अवस्थामा भारतबाट बिजुली आयात गर्नुपर्ने घिसिङ बताउँछन् । 

उनी भन्छन्, ‘‘क्षति धेरै भएको र बनाउन लामो समय लागेको अवस्थामा यसवर्षको हिउँद हामीलाई इनर्जीको व्यवस्थापनमा समस्या आउँछ । हामी सकेसम्म छिटो यसलाई रिस्टोर गर्ने गरी अगाडि बढ्ने छौं ।”

तामाकोसी आयोजनाबाट प्राधिकरणले यसअघिको हिउँदमा दिउँसो पानी जम्मा गर्ने र उच्चमाग हुने समयमा सञ्चालन गरेर माग पूर्ति गर्दै आएको थियो । 

माथिल्लो तामाकोसी ४ देखि ६ घण्टा पुग्ने ‘पिकिङ’ जलाशय आयोजना समेत हो । पानी जम्मा गरी उच्च मागको समयमा ४५६ मेगावाट उत्पादन हुने गरेको थियो । अब आयोजना पुननिर्माणमा लामो समय लागेको खण्डमा गतवर्ष जगेडामा रहेको नेपालको ऊर्जा क्षेत्र यसवर्ष धेरै घाटामा जानेछ ।

आयोजनामा शनिबार (असोज १२) अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुगेको पुगेको छ । पहिरोले बाँध स्थलमा रहेको कन्ट्रोल रुम पूर्ण रुपमा क्षति भएको थियो । यस्तै सेटलिङ बेसिन र बक्स कलर्भटमा लेदो जमेको छ । 

तामाकोसीको बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पु¥याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान प्राधिकरणको छ ।

पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुर्याएको आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहन गौतमले बताए । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ । 

तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक रहेकोमा तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युमेक पुगेको पुगेको थियो । प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बामोजिम नदीमा पानीको बहाव २५० क्युमेक हुनासाथ विद्युत्गृह बन्द गर्नुपर्ने प्रावधान अनुसार ११ गते बेलुका सात बजेदेखि आयोजना बन्द गरिएको थियो ।
 
क्षति अरू २६ आयोजनामा पनि

असोज १२ को बाढीले निर्माणाधीन र सञ्चालनमा रहेको २६ आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार, दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । 
“हामीले पाएको तथ्यांक अनुसार झण्डै साढे दुई अर्बको क्षति भएको विवरण पाएका छौं । यसमा सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युतमा बाँधमा क्षति पुगेको छ,” उनले भने, “प्रसारण लाइनतर्फ पनि कतिपय ठाउँका टावर ढलेको छ ।”

सञ्चालनमै रहेका ६२६ मेगावाट ११ वटा आयोजनामा क्षति हुँदा भारत निर्यात पनि बन्द गरिएको प्राधिकरणले जनाएको छ । यस्तै निर्माणाधीन रहेका १०१० मेगावाट क्षमताका १५ आयोजनामा पनि क्षति भएको छ ।
 
क्षतिग्रस्त आयोजना कति समयमा सञ्चालनमा आउँछन् भन्ने बारेमा तत्कालै भन्न सकिने अवस्था नरहेको प्राधिकरणका निर्देशक घिसिङ बताउँछन् । “आयोजनाभन्दा प्रसारण लाइन डिस्र्टभ हुँदा समस्या हुन्छ । एउटा आयोजनामा क्षति हुँदा त्यस क्षमता बराबरको मात्रै विद्युत् आउँदैन । तर, प्रसारण लाइनमा समस्या भयो भने त्यस लाइनबाट प्रवाह हुनै सबै आयोजना बन्द गर्नुपर्ने हुन्छ,” उनले भने, “प्रसारण लाइनमा पनि काबेली कोरिडोर, खिम्ती– लामोसाँघु, सोलु कोरिडोरमा केही केही समस्या छ ।”

इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुगेको छ । प्रसारण लाइन ढलेसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । 

काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुगेको छ । खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको पनि एउटा टावरमा क्षति पुगेको घिसिङले बताए । यस्तै सोलु कोरिडोर प्रसारण लाइन अन्र्तगत प्रमुख लाइन आवद्ध केही सब–स्टेसनमा क्षति भएको छ ।

कोरिडोरअन्र्तगत तिङ्ला सबस्टेसनमा जोडिएको १२ मेगावाटको सोलु दुधकुण्डको ३३ केभी लाइनको तीन वटा तारमा क्षति भएको घिसिङले जानकारी दिए । यद्यपि हालसम्म धेरै स्थान सडकमार्ग सञ्चालनमा नआएको हुँदा यसको क्षति अझै बढ्न सक्ने उनको भनाइ छ ।

बंगलादेश सम्झौतामा समस्या पर्दैन : घिसिङ

दुई दिन परेको अविरल वर्षाले नेपालको ऊर्जा क्षेत्र तहसनहस पारे पनि त्यसले बंगलादेश जाने ४० मेगावाट बिजुलीमा कुनै समस्या नहुने कार्यकारी निर्देशक घिसिङ बताउँछन् । अक्टोबर ३ तारिख (असोज १७) मा नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्रीको सम्झौता हुँदैछ ।

४० मेगावाट सानो परिमाण भएका कारण त्यसको व्यवस्थापन गरेर भएपनि सम्झौता हुने घिसिङले जानकारी दिए । लामो समयदेखि चर्चामा मात्रै सप्मित रहेको नेपाल बंगलादेशबीच विद्युत् खरिद–बिक्री सम्झौता १७ गतेका लागि तय गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्