site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य बिमाको सुविधा दायरा पाँच लाखसम्म पुर्‍याउन के गर्दै छ मन्त्रालय ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको योजना तथा कार्यक्रममा उल्लेख भएको एक प्रमुख विषय हो स्वास्थ्य बिमाको सुविधा दायरा बढाउने ।

बिमितलाई हाल वार्षिक एक लाख रुपैयाँसम्मको उपचार उपलब्ध गराउँदै आएकोमा यो सुविधाको दायरा पाँच लाख रुपैयाँ पुर्‍याउने उनको योजना छ । 

त्यसका निम्ति मन्त्रालयका तर्फबाट आफूले स्रोत निश्चितताका निम्ति सरकारसमक्ष आवश्यक प्रस्ताव र योजना पेस गरेको मन्त्री पौडेलले बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सेवा सुविधाको दायरा पाँच लाखसम्म पुर्‍याउन हाल स्वास्थ्यमा भएका सबैखाले अनुदान तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गरी बिमामार्फत् नै अघि बढाउने उनको प्रस्ताव छ । 

सबै कार्यक्रम एकद्वारमा ल्याउने प्रक्रियामा मन्त्रालय 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुदानमार्फत् दिइने सबैखाले स्वास्थ्य सेवाका कार्यक्रमलाई बिमामा नै समेट्नेगरी प्रक्रिया अघि बढाइरहेको छ । त्यसका निम्ति आन्तरिक गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्यमा हाल छरिएका कार्यक्रम, तिनको लगानी र प्रभावकारिताबारे मूल्यांकन भइरहेको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । उनका अनुसार छरिएका सबै बजेटलाई एकीकृत गरी बिमा कार्यक्रममा लगानी गर्ने र हाल दिइँदै आएका सेवा सुविधा बिमामार्फत् नै दिनेगरी गृहकार्य भइरहेको छ । त्यसका निम्ति सामाजिक सुरक्षाका सबै सेवा सुविधा उपलब्ध गराउनेगरी सबैलाई बिमित गर्नुपर्ने उनको भनाइ छ । 

कुन कार्यक्रममा कति खर्च भइरहेको छ ? 
सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । ९८ प्रकारका औषधि पनि यही सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउँदै आएको छ । यो कार्यक्रमका निम्ति चालु आर्थिक वर्षमा एक अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

कडा आठ रोगका बिरामीका निम्ति विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालनमा छ । यसका निम्ति आर्थिक वर्ष २०८०/०८१ मा यो कार्यक्रमका निम्ति दुई अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको थियो । तर, बिरामीको संख्यासँगै सो वर्ष खर्च बढेर तीन अर्ब ८० करोड ९७ लाख रुपैयाँ पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हिराकुमारी निरौलाले बताइन् । 

यस्तै, आमा तथा नवजात शिशु स्वास्थ्यलाई लक्षित गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सरकारले चालु आर्थिक वर्षमा यो कार्यक्रमका निम्ति तीन अर्ब ६ करोड रुपैयाँ विनियोजन गरेको छ । 

गत आर्थिक वर्षमा स्थानीय तहलाई एक अर्ब ७१ करोड ३३ लाख र प्रदेशलाई एक अर्ब तीन करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको थियो । सो वर्ष विनियोजित बजेटमा २५ करोड रुपैयाँ अपुग भएकोे परिवार कल्याण महाशाखाको तथ्यांक छ ।

यीबाहेक उमेर समूह, विपन्न, अपांगतालगायत विभिन्न आधारमा सरकारले निःशुल्क तथा छुटसहितको सेवा प्रदान गर्दै आएको छ । 

प्रिमियम रकम बढाउन यस्ता छन् स्वास्थ्यमन्त्रीका योजना 
बिमामा हालको प्रिमियम रकम बढाउन चिनीजन्य पदार्थ बढी भएका उत्पादनमा ‘सुगर ट्याक्स’ लगाउनुपर्ने र त्यसबाट संकलित कर बिमा बोर्डमा जाने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । 

यस्तै, स्वास्थ्य कर कोषमा जम्मा भएको १२ अर्बमध्येबाट २५ प्रतिशत रकम स्वास्थ्य मन्त्रालयले पाउनेगरी व्यवस्था गर्ने मन्त्री पौडेलको योजना छ । 

चालु आर्थिक वर्षमा कोषबाट मन्त्रालयले ३८ करोड ४० लाख रुपैयाँ मात्रै पाएको छ । स्वास्थ्य बिमा कार्यक्रमका निम्ति सरकारले चालु आर्थिक वर्षको बजेटमा सात अर्ब ५० करोड रुपैयाँ अनुदान रकम विनियोजन गरेको छ । बिमितबाट बार्षिक करिब तीन अर्ब रुपैयाँ संकलन हुने गरेको स्वास्थ्य बिमा बोर्डको तथ्यांक छ ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्