site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेयर बालेनसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट 

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले मध्यपूर्व क्षेत्रमा कतारले आयोजना गरेको विश्वकप फुटबल व्यवस्थापनको प्रशंसा गरेका छन् । सन् २०२२ मा कतारमा विश्वकम आयोजना गरिएको थियो ।

आइतबार उनको कार्यकक्षमा शिष्टाचार भेटका निम्ति पुगेका नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीसँग प्रमुख शाहले भने, “विश्वकप खेल सञ्चालन गर्न कतारमा निर्माण गरिएको रंगशालाको अन्तर्राष्ट्रियस्तरमा ख्याति रहेको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलजस्तै नागरिकलाई तत्काल र प्रत्यक्ष लाभ पुग्ने खालका कार्यका निम्ति संयुक्त आयोजनामा कार्यक्रम गर्न सकिने प्रमुख शाहको भनाइ थियो ।

त्यस अवसरमा राजदूत अली अन्सारीले प्रमुख शाहको कार्यशैलीको प्रशंसा गरे । कतारको विकासमा नेपाली नागरिकको सहयोग रहेको उनले उल्लेख गरे । उनले भने, “कतारमा धेरै नेपाली हुनुहुन्छ, उहाँहरूले हाम्रो विकासमा सघाइरहनुभएको छ । कतारियनहरू पनि नेपालको विकासका लागि लगानी गर्न इच्छुक हुनुहुन्छ ।”

भेटका क्रममा काठमाडौं महानगरपालिका र दोहा नगरबीच भगिनीसम्बन्ध स्थापनाको सम्भावना, परस्पर हित र सहकार्यका विषयमा कुराकानी गरिएको थियो ।

त्यसक्रममा प्रमुख शाहले शान्तिका प्रतीक गौतमबुद्धको मूर्ति मित्रताको चिनोस्वरूप राजदूतलाई उपहार दिएका उनको सचिवालयले जानकारी गराएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्