site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टीको झन्डा छाडेर सडकमा किन उत्रियो रास्वपा ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा पक्राउ परेपछि सिंगो पार्टी पछि–पछि लाग्दै पोखरा पुग्यो । नेतृत्व वृत्त नै अदालतलाई प्रभावित पार्ने भाषण–नाराबाजीका तहमा ओर्लिए, ठगी प्रकरणमा मुछिएका सभापति लामिछानेलाई जोगाउन ।

लामिछाने पक्राउ परेपछि कात्तिक २ गते पोखरा पुगेका पार्टी पदाधिकारीहरू सडक आन्दोलनमा देखा परे । देशभरबाट कार्यकर्ता बोलाउँदै पोखरा केन्द्रित आन्दोलन गरे, जहाँ ठगी प्रकरणमा मुछिएका लामिछानेलाई बयान निम्ति थुनिएको थियो ।

अनौठो चाहिँ सिंगो पार्टी सडकमा उत्रिँदा रास्वपाको झन्डा निकालेनन् । बरू आन्दोलनकारीलाई रास्वपाले राष्ट्रिय झन्डाबोकाइयो । अनि रामेश र रायनको गीत घन्काए, ‘गाउँ–गाउँबाट उठ बस्ती बस्तीबाट उठ ।’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रास्वपाका संस्थापक महामन्त्री डा. मुकुल ढकाल नागरिकलाई सडकमा उतार्ने योजनामा राष्ट्रिय झन्डा बोकेको बताउँछन् । 

डा. ढकालले बाह्रखरीसँग भने, “रवि लामिछालेलाई चितवनमा जस्तैगरी मानिसहरू सडकमा आइदिन्छन् । जनताको आन्दोलन भन्न पाइन्छ भनी राष्ट्रिय भण्डा बोक्न उपसभापति डा. स्वर्णिम वाग्लेले सर्कुलेसन गरी पार्टी भण्डारहित बनाइएको हो ।”

देशभरबाट कार्यकर्ता बोलाउँदै गरिएको आन्दोलनमा नागरिकले भने साथ नदिएको ढकालले दावी गरे । उनी सभापति रवि लामिछाने क्रियाकलापविरुद्ध उत्रिएपछि पार्टीबाट धपाइनेमा परेका छन् ।

विश्लेषक अरुण सुवेदी रास्वपा पार्टी नभइसकेकाले त्यो पार्टीमा झन्डा र विचारको महत्व स्थापित नभएको बताउँछन् । अदालतले गर्ने निर्णय प्रभावित पार्नेगरी राष्ट्रिय भण्डा बोकेर विरोध गरिएको बुझाई उनको छ ।

उनी यसलाई दिशाहिनताको पराकाष्ठा ठान्छन् । सुवेदीले बाह्रखरीसँग भने, ‘‘क्यारिएरिष्ट (व्यक्तिगत करियरका लागि काम गर्ने) र भावनात्मक रुपमा एक ठाउँमा उभिँदै कानुनी नाम प्राप्त भएको पार्टी हो, रास्वपा । एउटा सुगठित संगठन र राजनीतिक चरित्र रास्वपामा खोज्न सकिँदैन । रास्वपा भीडको रिफ्लेक्सन मात्र हो ।”

उनी प्रमुख पार्टीहरू जनताका मुद्दाबाट टाढिँदै जाँदा घृणाका शब्दलाई लोकप्रिय बनाउँदै रास्वपाको समूह कायम भएको उनी बताउँछन् । 

उता रास्वपाका संस्थापक महामन्त्री डा. ढकाल भने रविको पार्टीलाई आर्यघाटमा पु¥याएर आफ्नो स्वार्थ पूरा गर्ने चरित्रमा डा. स्वर्णिम वाग्ले खेलिरहेको बुझाइमा छन् । 

रास्वपामा पढेलेखेको र रणनीतिक व्यक्ति डा. वाग्ले मात्र रहेको र उनले लामिछाने क्लव कब्जा गर्न लागेको जिकिर ढकालको छ । जिल्ला–जिल्लाबाट कार्यकर्ता बोलाउँदै अदालतलाई प्रभावित पार्ने आन्दोलनका ‘आइडिया’ पनि डा. स्वर्णिमकै भएकाले त्यसले पार्टीको मर्म नै समाप्त पारेको उनी बताउँछन् । 

उता उपसभापति वाग्ले भने “लामिछानेलाई ‘ड्यामेज’ गरियो भने यो सिंगो अभियान निमोठ्न सकिन्छ यो ठूलो भ्रममा ठूला दलहरू भएको जिकिर गर्छन् । 

वाग्लेले भनिरहेका छन्, ‘‘रविजी हाम्रो संस्थापक सभापति हो, उहाँ जेलभित्र रहेपनि जेल बाहिर रहेपनि मैदानमा रहेपनि मन्त्रालयमा रहेपनि इतिहासमा दर्ज भइसक्नुभयो । नेपालका मत पत्रमा घण्टी चुनाव चिह्न कुनै माइकालालले हटाउन सक्नेछैन ।”

रास्वपाका कार्यवाहक प्रवक्ता तथा केन्द्रीय सदस्यसमेत रहेका सांसद मनिष झाले रविका लागि आफू ज्यान दिन तयार भएको उद्घोष गरिसकेका छन् । त्यतिमात्र होइन, उनले रास्वपाको पहिलो सहिद बन्न आफू तयार रहेको घोषणा गरेका छन्, ‘‘रवि दाइ मर्न तयार हुनुहुन्छ भने म पनि मर्न तयार छु ।’’

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्