site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्णाली स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् ।

दीक्षान्त समारोह यही कात्तिक २८ गते (भोलि) हुने भएको छ । यसअघि, गएको भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोहको तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेंगर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले बताए ।

उनले भने, “स्नातकतर्फ बीपीएचमा ३८, एमबीबीएस १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।”

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटन समेत गर्ने कार्यक्रम छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए ।

दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल गरिने जनाइएको छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्