site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मनपरी हवाई भाडा वृद्धि गरी यात्रु ठग्ने वायुसेवा कम्पनीलाई कारबाही हुन्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 

पत्रकारसँग कुराकानी गर्दै मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरूको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उपभोक्ताहरूको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरूले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरूले गर्दै आएका छन् । हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए ।

तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरूसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको उनको भनाइ थियो । हवाई भाडा बढेका विषयमा पाँचबुँदे निर्णय गरी ट्राभल एजेन्सीहरूले टिकटहरू होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको बताए । अहिले क्रमिक रूपमा हवाई भाडादर पुरानै मूल्यमा आएको बताए । सस्तो टिकट कतिको र महंगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको बताए । 

"टिकटको मूल्य बढेपछि परराष्ट्रमन्त्री, श्रममन्त्री र म बसेर मन्त्रालयको समन्वयमा क्यानमा विमान सञ्चालकहरू र तिनीहरूका प्रतिनिधिहरूलाई राख्यौँ । टिकट बढेका विषयमा उहाँहरूलाई पाँचबुँदे निर्णय गरेका छौँ । उहाँहरू त्यो निर्णयमा सहभागी हुनुहुन्छ । ट्राभल एजेन्सीहरूले टिकटहरु होल्ड गर्ने भनेर महंगोमा बेचिएको कुरा अयो, त्यो रोक्नुस् भनेका छौँ । त्यो प्याकेजमै होल्ड गर्ने प्रवृृत्ति रोक्नुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ । सस्तो कतिको टिकट बिक्यो, महंगोको कतिको बिक्यो त्यो सबै फेहरिस्त सार्वजनिक गर्नुस् भनेका छौँ," उनले भने । 

मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान विस्तार गर्न मन्त्रालयले योजनावद्ध रूपमा काम अघि बढाइरहेको बताए । भैरहवामा हाल पाँ वटा एयरलाइन्सले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पु¥याउने भन्ने योजनामा मन्त्रालय रहेको उल्लेख गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्