site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कृषि विकास रणनीति छिट्टै ल्याइन्छ : मन्त्री अधिकारी

काठमाडौ‌ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले कृषि क्षेत्रका अधिकांश समस्या समाधान गर्नेगरी कृषि विकास रणनीति छिट्टै ल्याउने बताएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा २०औँ राष्ट्रिय कफी दिवसका अवसरमा शुक्रबार कीर्तिपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले समयानुकूल परिमार्जन गर्न सातै प्रदेशका सरोकारवाला पक्षसँग सुझाव लिइएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

किसानमैत्री वातावरण बनाउन प्रदेश र स्थानीय तहलाई विशेष जिम्मेवारी प्रदान गरी रणनीति परिमार्जन आवश्यक रहेको बताउँदै उनले जीविकोपार्जनका लागि कृषिकर्म गर्नेहरूलाई पनि व्यावसायिक कृषिमा ल्याउन प्रेरित गर्नेगरी रणनीतिमा बीउबिजन, मल, प्राविधिक सहयोग, बजारको व्यवस्था तथा पूर्वाधारलाई प्राथमिकतामा राखिएको जानकारी गराए ।

मध्यपहाडी भेगमा रहेका बाँझो जमिनलाई खेती गर्न प्रोत्साहन गरिने सरकारको नीति रहेको भन्दै मन्त्री अधिकारीले कृषि, भूमि र ऊर्जा मन्त्रालयबीच समन्वय भइरहेको प्रष्ट पारे । उनले नेपाली हावापानीमा उत्पादित अरविका कफीको उच्च माग विदेशमा रहेकाले त्यसको उत्पादन वृद्धि गर्न किसानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयका सचिव गोविन्द शर्माले करिब चार हजार हेक्टर जमिनमा कफीखेती हुने गरेको बताउँदै विदेशमा निर्यात गर्ने उद्यमीले अन्तर्राष्ट्रिय बजारको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।

बोर्डका कार्यकारी निर्देशक वेनुपप्रसाद प्रसाईंले आर्थिक वर्ष २०८०/८१ मा देशभर करिब पाँच सय मेट्रिक टन ग्रिनवीन कफी उत्पादन भएको बताउँदै १४ करोड ९२ लाखबराबरको ८९ मेट्रिक टन कफी निर्यात गरेको जानकारी दिए ।

कफी सहकारी संघहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिहरूको प्रदर्शनी गरिएको कार्यक्रममा मुलुकमा कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण गरिएको थियो । सो अवसरमा उत्कृष्ट किसान तथा संघसंस्थालाई सम्मान गरिएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्