site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ

पर्सा । पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुईजना आरोपितलाई पक्राउ गरेको छ ।

कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई रु ५० हजार फिरौती रकमसहित पक्राउ गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले अपहरित महमदसँग अपहरणकारीले फिरौतीबापतको रकम लिँदै गरेको अवस्थामा वीरगन्ज महानगर–१६ स्थित इनर्वागाउँबाट सन्तोष दास तत्मा र हरिशंकर शर्मालाई पक्राउ गरेको जानकारी दिए  ।

गत शुक्रबार महमदको भारतमा अपहरण भएको थियो । महमदले अपहरणकर्तालाई खाली चेक र मोटरसाइकल दिएर फुत्किएका प्रहरीलाई बताएको छ । 

अपहरणकारीले थप पैसा माग्न थालेपछि महमदले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए । सोही सूचनाका आधारमा प्रहरीले अपहरणमा संलग्न भनिएका आरोपितलाई पक्राउ गरेको हो । 

अपहरणको अभियोगमा पक्राउ परेका तत्मा र शर्मा दुवैजना वीरगन्ज महानगर–१६ का स्थानीय बासिन्दा हुन् । पर्सा प्रहरीले अपहरणमा प्रयोग भएको मधेस प्रदेश ०३–०२५ प ३९८० नम्बरको पल्सर मोटरसाइकल र बिआर ०५ एयु ९७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । 

प्रहरी नायब उपरीक्षक लम्सालले अपहरणको अभियोग लागेका दुवै जनालाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्