site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
नेपालमा स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन कहिले ?
तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं । विश्वभर चर्चामा रहेको स्टारलिंकको स्याटेलाइट इन्टरनेट नेपालमा सञ्चालन हुने सम्भावना अनिश्चित छ । विश्वकै धनाढ्य अर्बपति रहेका अमेरिकी उद्यमी एलन मस्कको कम्पनी स्टारलिंकले स्याटेलाइट अथवा भूउपग्रहमा आधारित इन्टरनेट उपलब्ध गराउँछ ।

अन्तरिक्ष कम्पनी स्पेसएक्सको सहायक कम्पनीका रूपमा रहेको स्टारलिंकले आकाशमा स्याटेलाइट राखेर त्यसमार्फत पृथ्वीको जुनसुकै कुनामा इन्टरनेट सेवा दिने लक्ष्य राखेको छ । कम्पनीले हाल विश्वभर १०० भन्दा बढी देशमा आफ्नो सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

कम्पनी नेपालमा यसअघि सन् २०२४ मा सेवा सुरु गर्ने जनाएको थियो । कम्पनीले हाल भने सेवा सुरु हुने मिति अनिश्चित रहेको वेबसाइटमा उल्लेख गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि टेस्ला एवं स्पेसएक्सका मालिक समेत रहेका मस्कसँग भर्चुअल कुराकानी गरेको जानकारी दिँदै सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेका थिए । यही मंसिर ७ गते उनले ‘केही समयअघि एलन मस्कसँगको कुराकानीमा उनलाई नेपाल भ्रमणको निम्तो दिएको’ लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

प्रधानमन्त्री ओलीको पोस्टसँगै स्टारलिंकको इन्टरनेट नेपालमा सुरु हुन सक्ने विषयमा चासो बढेको छ । स्टारलिंकले यसअघि नै दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष आफ्नो इन्टरनेट सेवा नेपालमा सुरु गर्न चाहेको भनेर प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो । प्राधिकरणले नेपालको कानुनी प्रक्रियाअनुसार सेवा सुरु गर्न सक्ने जानकारी कम्पनीलाई गराएको थियो ।

नेपालमा दूरसञ्चार क्षेत्रको विदेशी कम्पनीले ८० प्रतिशत लगानी गर्न पाउने र २० प्रतिशत स्थानीय साझेदारको हुनुपर्ने कानुनी व्यवस्था छ ।दूरसञ्चार नीति, २०६० को ५–६–२ मा उल्लेख छ, “दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानी आकर्षित गरिनेछ । यस्तो लगानीमा न्यूनतम २० (बीस) प्रतिशत स्वदेशी सहभागिता हुनुपर्नेछ ।”

प्राधिकरणले यही जानकारी स्टारलिंकलाई गराएको थियो । स्टारलिंकले भने शतप्रतिशत आफ्नो लगानीमा सेवा उपलब्ध गराइरहेको छ । सोहीअनुसार नेपाली बजारमा प्रवेश गर्न खोजेको छ । तर, कम्पनीको योजनामा नेपालको कानुनी बाधापछि सेवा सञ्चालन कहिले हुन्छ भन्ने अनिश्चितता देखिएको हो ।

नियामक निकायले कानुनी प्रक्रियाअनुसार आएमा स्टारलिंकले सेवा सञ्चालन गर्न सक्ने जनाउँदै आएको छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले स्टारलिंकलाई इन्टरनेट सेवाप्रदायकका रूपमा अनुमति दिने प्रक्रिया अघि नबढेको बताए । कानुनानुसार आउने कम्पनीले अनुमति पाउने उनले जानकारी दिए । उनले बाह्रखरीसित भने, “कानुनी प्रक्रिया पूरा गरेर आउने कम्पनीले अनुमति पाउँछन् ।”

परम्परागतभन्दा स्टारलिंकको स्याटेलाइट पृथ्वीनजिक रहेका कारण यसको इन्टरनेट स्पीड तीव्र छ । धेरै स्याटेलाइटको सञ्जाल र तिनले पृथ्वीमा ग्राउन्ड स्टेसनसँगको स्थिर कनेक्सनका कारण कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा दिन सक्ने दाबी गर्दै आएको छ ।

भारत र पाकिस्तानमा नियामकीय स्वीकृति कुरिरहेको र बंगलादेश र भुटानमा सन् २०२५ मा सेवा सुरु गर्ने स्टारलिंकले जनाएको छ । मंगोलिया, जापान, अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडालगायत देशमा भने यसको सेवा पहिले नै सुरु भइसकेको छ ।

कम्पनीले आफ्नो इन्टरनेटको अपलोड स्पीड ३८ एमबीपीएस र डाउनलोड स्पिड २५१ एमबीपीएससम्म रहेको जनाएको छ ।

कसरी काम गर्छ स्टारलिंकको स्याटेलाइट इन्टरनेटले ?
हामीसँग भएको फोन वा कुनै पनि इन्टरनेट चल्ने उपकरणमा स्टारलिंकको इन्टरनेट चलाउन सकिन्छ । हाम्रो मोबाइलले घरको छत वा कतै नजिक रहने स्टारलिंकको डिसमा रिक्वेस्ट पठाउँछ । मोबाइलबाट प्राप्त सिग्नल उक्त डिसले आकाशमा आफ्नो नजिक रहेको स्टारलिंकको स्याटेलाइटमा पठाउँछ ।

डिसबाट पाएको सिग्नल उक्त स्याटेलाइटले अर्काे स्याटेलाइट वा सोझै पृथ्वीमा रहने स्टारलिंकको ग्राउन्ड स्टेसनमा पठाउँछ । ग्राउन्ड स्टेसनले उक्त सिग्नल पाएसँगै त्यसलाई विश्वको इन्टरनेटसँग कनेक्ट गराउँछ । स्टारलिंकको इन्टरनेटबाट यसरी हामी कुनै पनि वेबसाइट वा अर्काे उपकरणमा पहुँच पाउन सक्छौँ ।

यो सबै प्रक्रिया निकै छिटो २० देखि १२० मिलिसेकेन्डभित्र भइसक्छ । एक सेकेन्डमा एक हजार मिलिसेकेन्ड हुन्छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्