site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
इरानले गर्‍यो दूरसञ्चारको विस्तारका निम्ति भारी उपकरणसहितको रकेट अन्तरिक्षमा प्रक्षेपण
फाइल तस्बिर ।

तेहरान । इरानले शुक्रबार आफ्नो सबैभन्दा भारी अन्तरिक्ष ‘पेलोड’ (एक उपग्रह र एउटा अन्तरिक्षयान)लाई स्वदेशमा विकसित रकेटको प्रयोग गरी सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

सरकारी टेलिभिजनका अनुसार, ३०० किलोग्राम तौल भएको उक्त पेलोडमा फखर–१ दूरसञ्चार उपग्रह र समन–१ अन्तरिक्षयान छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इरान अन्तरिक्ष अनुसन्धान केन्द्रले सन् २०१७ मा सार्वजनिक गरेको समन–१ एक ‘कक्षीय प्रसारण प्रणाली’ हो, तल्लो कक्षबाट माथिल्लोमा उपग्रहहरू पुर्‍याउन यो डिजाइन गरिएको हो ।

“यो प्रक्षेपण उपग्रहलाई उच्च कक्षमा स्थानान्तरण गर्ने दिशामा महत्त्वपूर्ण कदम हो,” टीभी रिपोर्टमा भनिएको छ ।

यो प्रणाली पहिलोपटक सन् २०१७ को फेब्रुअरीमा इरानका तत्कालीन राष्ट्रपति हसन रुहानीको उपस्थितिमा सुरु गरिएको थियो । र, सन् २०२२ मा परीक्षण सुरु गरिएको थियो ।

पेलोडहरू सेम्नान प्रान्तको इमाम खोमेनी प्रक्षेपण आधारबाट घरेलु सिमोर्ग उपग्रहवाहक प्रयोग गरेर प्रक्षेपण गरिएको हो । एक पौराणिक इरानी चराको नामबाट नामकरण गरिएको सिमोर्ग इरानको रक्षा मन्त्रालयले विकास गरेको तरल–इन्धन उपग्रह प्रक्षेपणवाहन हो ।

गएको सेप्टेम्बरमा इरानले रिभोल्युसनरी गार्ड्सको एयरोस्पेस डिभिजनले उत्पादन गरेको गायम यानको प्रयोग गरेर चाम्रान–१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक कक्षमा स्थापित गरेको जनाएको थियो ।

गएको महिना रुसले इरानले निर्माण गरेका दुई उपग्रह कोस्वार र होधोदसहित ५५ भूउपग्रह प्रक्षेपण गरेको थियो । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्