site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंकको १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औँ वार्षिक साधारणसभाले सेयरधनीका नगद लाभांश पारित गरेको हो ।

साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । समीक्षा वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपैयाँ अर्थात् १६.४१ प्रतिशतले वृद्धि भई चार खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । कर्जा तथा सापटी ४६ अर्ब ३२ करोड अर्थात् १३.६५ प्रतिशत वृद्धि भई तीन खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । समग्रमा आ.व. २०८०/८१ मा बैंकको वासलातको आकार १५.७६ प्रतिशतले वृद्धि भई  पाँच खर्ब ५७ अर्ब दुई करोड पुगेको हो  ।

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए ।

नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएम मेसिनमार्फत सेवा दिँदै आएको  छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्