site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे । उनले एक लाखदेखि एक लाख ५० हजार लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै आएका थिए । उनले गहुँखतीबाट वार्षिकरूपमा १० क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन हुँदै आएको थियो । उनलाई गहुँबाट वार्षिकरूपमा ७२ हजार आम्दानी हुँदै आएको थियो ।

पछिल्लो समय साह गहुँखेती छोडेर मकैखेती गर्न सुरु गरेका छन् । उनले अहिले एक बिघा १० कट्ठा खेतमा मकैखेती गरेको बताउँछन् । एक लाखदेखि एक लाख ५० हजारको लगानीमा गरेको मकैखेतीबाट चार लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ एक बिघा १० कट्ठामा मकैखेती गरेको उनले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मकैखेतीबाट वार्षिकरूपमा एक सयदेखि १२० क्विन्टलसम्म उत्पादन गरेर वार्षिकरूपमा रू चार लाख आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहले बताए ।   

गहुँखेतीमा कम उत्पादन हुने र कम आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहको भनाइ छ । साह सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन्छन् । 

पछिल्लो समय सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन् ।

जिल्लामा पछिल्लो समय वार्षिकरूपमा गहुँखेती गर्ने कृषकको संख्या क्रमिकरूपमा घट्दै गएको छ भने मकैखेती गर्ने कृषकको संख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।  

आर्थिक वर्ष २०८०/०८१ मा सुनसरीमा १२ हजार २४८ हेक्टर क्षेत्रफलमा गहुँखेती भएकोमा आव २०८१/०८२ मा १२ हजार १२५ हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गरेको कार्यालय प्रमुख सिंहले जानकारी दिए । 

त्यसैगरी आव २०८०/०८१ मा सुनसरीमा १० हजार छ सय ४१ हेक्टर क्षेत्रफलमा मकैखती गरेका र यस आवमा लगाउने क्रम जारी रहेका कारणले यसमा वृद्धि हुने उनले जानकारी दिए ।  आव २०८०/०८१ मा ३.३७ मेट्रिक टन गहुँको उत्पादकत्व रहेकोमा सोही आर्थिक वर्षमा ७.८ मेट्रिक टन प्रतिहेक्टर मकैको उत्पादकत्व रहेको सिंहले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्