site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
फेवातालमा दोस्रो संस्करणको ‘ड्रागन बोट फेस्टिभल’ पुस १४ र १५ गते 

काठमाडौं । पोखराको फेवातालमा यही पुस १४ र १५ गते दोस्रो संस्करणको ‘ड्रागन बोट फेस्टिभल’ आयोजना गरिने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसाथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फेस्टिभल गर्न लागिएको हो ।

प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका आठ र सिंगापुरका एक गरी २० समूहको सहभागिता रहनेछ । २०० र ५०० मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवैका विजेता समूहले पाँच हजार अमेरिकी डलर, उपविजेताले दुई हजार र तेस्रो हुनेले एक हजार २०० डलर पुरस्कार प्राप्त गर्नेछन् । सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह ५०० डलर प्रदान गरिने आयोजकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त फेस्टिभलको जानकारी दिन आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले यसले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन हुने बताए ।

चीन सरकारको अगुवाइमा नेपालमा पहिलोपटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल सफलतापूर्वक आयोजना गरिएको थियो । चीनले यसखालको प्रतियोगिता विश्वका ५० देशमा आयोजना गर्ने गरेको छ ।

यो प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाका साथै यहाँको पर्यटन प्रवर्द्धन हुने अपेक्षा राखिएको जोशीले जनाए ।

चिनियाँले मनाउने यो पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेन्डरको पाँचौँ महिनाको ५ गते त्यहाँ ड्रागन बोट फेस्टिभल आयोजना गरिन्छ ।

चिनियाँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन बोट फेस्टिभल चीनका चार ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिका रूपमा लिने गरिन्छ ।

चीन नेपालको प्रमुख पर्यटकीय बजार पनि हो । सन् २०१९ मा चीनबाट एक लाख ६९ हजार ५३४ र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०२४ को जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८४८ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्