site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यो सहरको कथा

काठमाडौंको भीडमा हराएर 
बिचरा मान्छेहरू 
हराएको मन 
कहाँ भेट्न सक्थे र ?
हराए काठमाडौंको मुटुबाटै मनहरू 
सुरक्षाकवच भेट्नै सकिएन 
खोक्रो शरीर घिसारेर के गर्नु ?          
दिशाहीन गन्तव्य भएपछि ।

नमिठो पीडाको घाउजस्तै छ काठमाडौं
छोरीको अस्तित्व खोज्न आएकी आमाले 
कुन मन्दिरमा अस्तित्व भेट्न सकिन् र ?
छोरो हराएको सुनेर आएको बाबुले 
कुन सडकमा छोरो भेट्न सके र ?

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हिजो पनि काठमाडौंमा 
छोराहरू हराइरहेकै थिए 
छोरीहरू गुमिरहेकै थिए  
आज पनि काठमाडौंमा 
छोराहरू हराइरहेकै छन्
छोरीहरू गुमिरहेकै छन्
हराएका छोराहरूको फर्कने मूल बाटो कुर्दै
गुमाइएका छोरीहरूको आर्तनाद सुनेर 
लाचार काठमाडौं 
जंगबहादुरको निर्मम अत्याचार खपिरहेकै छ ।

नमिठो परिवेशभित्र जकडिएको काठमाडौं 
परिवर्तनको ढ्वाङ फुकेर अट्टहास गर्छ 
कुन मान्छे यहाँ उन्मुक्त हाँसेको छ र ?
गर्वले छाती फुलाउनु काठमाडौं ! 
काठमाडौं कोलाहल हो 
आफैँमा आरोप, प्रत्यारोप गर्छ ।

काठमाडौं 
दुर्गन्धको मुहानजस्तै लाग्छ 
फोहोर व्यवस्थापन हुन नसक्दा 
कार्बन मोनोअक्साइड ग्यास पिउँदै 
हिँड्न विवश छन् मान्छेहरू 
सफा सहर भन्नै सकिएन 
जताततै दुर्गन्ध गन्हाउँछ काठमाडौं
र पनि काठमाडौं 
आफैँलाई सभ्य ठान्ने गर्छ 
खै, कुन सभ्यताको प्रदर्शन हो यो ?
आफैँमा अश्लीलता बिछ्याएर 
नांगै हाँसेको छ काठमाडौं ।

अरे, यो सहरको कथा 
कोठा नपाएर भौँतारिइरहेको मान्छे हो काठमाडौं 
रित्तो हात फैलाई कराइरहेको भिखारी हो काठमाडौं 
उपचार नपाई छट्पटिइरहेको सख्त घाइते हो काठमाडौं
भोकै सडक चहार्ने बालबालिकाको भोको पेट हो काठमाडौं
गन्तव्य नभेटेर टोलाइरहेको विवश यात्रु हो काठमाडौं ।

सायद पशुपतिको श्राप परेर होला 
कुर्सी तानातान गर्छ काठमाडौं
बन्द र खुलाको हानाहान गर्छ काठमाडौं
आफैँमा विकलांगजस्तो काठमाडौं 
कसरी चलाउने देश ?
राजधानी हुनुको पीडा नमिठै होला 
बैसाखी टेकेर लुखुरलुखुर हिँड्दै छ काठमाडौं ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्