site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भारतका चार सर्जकलाई नइ पुरस्कारको घोषणा

काठमाडौं । नइ प्रकाशनले छिमेकी मुलुक भारतका चार सर्जकलाई  विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

दुई लाख रुपैयाँ नगद राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारतको असमका केबी नेपालीलाई प्रदान गर्ने निर्णय गरिएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा योगदान दिएबापत नेपालीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रकाशनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिने जनाइएको छ ।

यस्तै, नेपाली गीतसंगीतका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएका संगीतकार मुम्बई निवासी रञ्जित गजमेरलाई ‘नइ कोइलीदेवी पुरस्कार’, नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा समर्पित दार्जिलिङका डा. जीवन नामदुङलाई ‘नइ ईश्वर बराल पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।

नेपाली साहित्यमा कविता, निबन्ध, कथा र समालोचना लेखनमा सक्रिय सिक्किम निवासी साहित्यकार डा. शान्ति क्षेत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।

यी तीन पुरस्कारका साथ नगद राशि जनही एक लाख रुपैयाँ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्