site stats
बाह्रखरी :: Baahrakhari
देश
गढीमाई मन्दिर तोडफोड गर्नेमाथि कारबाहीको माग
गढीमाई मन्दिर । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय समता पार्टी नेपालले बाराको गढीमाई मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठसहितको टोलीले सोमबार गृहमन्त्री लेखकलाई भेटेर मन्दिर तोडफोड गर्नेको यथाशीघ्र पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेको हो । 

पार्टी महासचिव तिवारीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, “यही माघ ३ गते बिहीबार राति करिब १० बजे आपराधिक मानसिकता बोकेका केही अराजक जत्थाले भाकलस्वरूप मन्दिरमा छाडिएका परेवा चोर्ने र लुटपाट गर्ने अभिप्रायले गढीमाई मन्दिर परिसरभित्र छिर्दा त्यहाँ खटिएका नगर प्रहरीले रोकेपश्चात् नगर प्रहरीसँग झडप गरी हातपात भएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साथै, शुक्रबार बिहान पुनः सुनियोजित तवरले केही अराजक जत्था गढीमाई मन्दिर परिसरभित्र छिरी त्यहाँ रहेको दानपेटिका र पंखाहरू तोडफोड र चरम उद्दण्डता गरेको दृश्यहरू सीसीटीभी फुटेजमा सहजै देखिएको जनाइएको छ ।

“अराजक समूहद्वारा बारा जिल्लास्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा गरिएको तोडफोड तथा उद्दण्डताविरूद्ध तत्काल कारबाही हुनुपर्ने माग राख्दै गम्भीर ध्यानाकर्षण गराइएको छ,” विज्ञप्तिमा भनिएको छ । रासस

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्