site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२८ हजार ५०० मेगावाट लक्ष्य पूरा गर्न ऊर्जामन्त्री खड्काले मागे दातृ निकायसँग सहयोग

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह गरेका छन् । सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ ल्याएको यसमा लगानी गर्न दातृ निकायलाई आग्रह गरेका हुन् ।

ऊर्जामन्त्री खड्काले दातृ निकायका प्रमुख एवं प्रतिनिधिसँगको छलफलमा ऊर्जा विकास मार्गचित्रले नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्रका रूपमा रूपान्तरण गर्न, राष्ट्रिय र सीमापार पूर्वाधारलाई बलियो बनाउँदै आर्थिक समृद्धिलाई सहयोग पुग्ने बताए ।

उक्त मार्गचित्र ऊर्जा सुरक्षा, दिगोपन र समावेशी आर्थिक वृद्धिको ‘रोडम्याप’ भएको मन्त्री खड्काले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको माथिल्लो अरुण जलाशययुक्त आयोजना, एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको दूधकोसी जलाशयुक्त आयोजना समयमै निर्माण हुने विश्वास व्यक्त गरे ।

ऊर्जा विकासको मार्गचित्रको लक्ष्यलाई पूरा गर्न दातृ निकायको ठूलो साथ र सहयोग आवश्यक रहेको जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवालले बताए । उनले ऊर्जा उत्पादन, प्रसारण र वितरणमा चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौतीलाई समाधान गर्नुपर्ने बताए ।

ऊर्जा विकास मार्गचित्र नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण दस्तावेज भएको भन्दै यसलाई कार्यान्वयन गर्न विकास साझेदार संस्थाको महत्त्वपूर्ण भूमिका रहेको विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले बताए ।

ऊर्जा विकास मार्गचित्रले राखेको लक्ष्य पूरा गर्न ४६.५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले बताए । उनले हाल ११ हजार १६१ मेगावाट विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको र १२ हजार नौ सय ६८ मेगावाट विद्युत् (पीपीए) हुने चरणमा रहेकाले सरकारले राखेको विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न समस्या नहुने जनाए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा विकास मार्गचित्रले राखेको लक्ष्य पूरा गर्न प्राधिकरणले जलाशययुक्त आयोजना निर्माणमा ध्यान दिएको बताए ।

एसियाली विकास बैंकका देशीय निर्देशक अर्नाउड काइचोइसले नेपालको ऊर्जा क्षेत्रको विकासमा दातृ निकायले लामो समयदेखि सहयोग गर्दै आएको र सरकारले राखेको ऊर्जा विकास मार्गचित्रको लक्ष्य पूरा गर्न आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त जनाए । उनले दक्षिण एसियाली मुुलुकको अर्थतन्त्र सुधार गर्र्न यस्ता कार्यक्रमबाट सहयोग पुग्ने बताए ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्