site stats
बाह्रखरी :: Baahrakhari
देश
ट्राफिकको ‘नो हर्न’ अभियान, कारबाहीमा पर्नुहोला ?

काठमाडौं । गएको सोमबार राम कार्की मोटरसाइकलमा सुन्धाराबाट रत्नपार्क जाँदै थिए । न्युरोड गेटको घुम्तीमा पुगेपछि गलत दिशाबाट अर्को मोटरसाइकल हुइँकिदै आयो । उनलाई सचेत गराउन कार्कीले हर्न बजाए ।
तर, नजिकैका ट्राफिक एक ट्राफिक प्रहरी जवानले कार्कीलाई रोके । उनको साथमा भएको कागजात जाँच गरे ।

ट्राफिक प्रहरीले मागेको सबै कागजात दिए । यति हुँदा हुँदै ट्राफिक भने, ‘तपाईंलाई जरिवाना हुन्छ ?’ कार्की अचम्ममा परे । प्रश्न गरे, ‘‘के–को जरिवाना ?’’ ट्राफिक प्रहरीले उत्तर दिए, ‘‘तपाईंले हर्न बजाउँदै आउनुभयो ।’’
कार्कीले हर्न बजाउनुको कारणबारे ती ट्राफिक प्रहरीलाई सक्ने जति ‘कन्भिन्स’ गर्ने प्रयास गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकामा ‘नो हर्न’ अभियान चलाएको हुँदा कुनै पनि हालतमा जरिवाना हुने जवाफ मात्र दिएनन् कि उनलाई कारबाही नै गरी छाडे ।

‘नो हर्न’ उल्लंघनमा कार्कीलाई ५०० सय रुपैयाँ ट्राफिक प्रहरीले ई–सेवामार्फत जरिवाना गराउँदै छाडे ।

पछिल्लो सयम कार्कीजस्तै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट मात्रै ट्राफिक प्रहरीले ‘नो हर्न’ प्रत्येक दिन ५० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता एसपी सञ्जयबहादुर राउतका अनुसार, सवारी चालकले जथाभावी र लापरवाही तरिकाले हर्न बजाएको गुनासोका आधारमा ‘नो हर्न’ अभियान थालिएको हो ।

उनी भन्छन्, ‘‘हामीले एक महिनादेखि ‘नो हर्न’ अभियान कडाइका साथ सुरु गरेका छौं । यो अभियान अझै जारी राखिने छ । जथाभावी हर्न बजाउँदा वृद्धादेखि बालबालिकालाई नराम्रो असर परेको गुनासो आएका कारण यो अभियान सुरु गरेका हौँ ।’’

आवश्यकता पर्दा बजाएको ‘हर्न’मा भने ट्राफिक प्रहरीले कुनै कारबाही नगर्ने एसपी राउतको दाबी छ । उनले भने, ‘‘हर्न कहीँ पनि बजाउनु हुँदैन भन्ने होइन । अलिकति जाम हुँदा पनि हर्न बजाउने प्रवृत्ति चालकहरूमा छ । त्यसबाहेक बालबालिका र वृद्धालाई असर हुने र ओभरटेक गर्नसमेत अनावश्यक हर्न बजाउने परिपाटी रोक्न ‘नो हर्न’ अभियान थालिएको हो ।’’

चालकको सचेतनाका लागि माइकिङ तथा प्लेकार्ड प्रदर्शनमा राखिएको एसपी राउतको भनाई छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिना माघ १३ गतेसम्म १० हजार ८४५ जना सवारी चालक कारवाहीमा परेका छन् ।

त्यसमध्ये पनि सबैभन्दा बढी पुस महिनामा परेका छन् । पुस महिनामा मात्रै ३ हजार १९६ जना सवारी चालक कारबाहीमा परेका छन् ।

मंसिरमा २ हजार ८९० जना तथा कार्तिकमा २ हजार ५५२ जना सवारी चालक कारबाही परेका छन् । चालु आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा भने २ हजार २०७ जनामात्रै कारबाही परेका थिए ।

चालु आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष २०८०/०८१ मा हर्न बजाएर ट्राफिक नियम उल्लंघन गर्ने १० हजार १२३ जना सवारी चालक कारबाहीमा परेका थिए । तर, चालु आर्थिक वर्षको ६ महिनामै गत आर्थिक वर्षको भन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् ।
 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्